गत वर्ष साढे ५ लाख मेट्रिक टन मासु उत्पादन, अण्डा उत्पादन १६ करोडले बढ्यो

0
Shares

पछिल्ला दिनहरुमा नेपालमा मासुको उत्पादन र उपभोग दुबै विस्तार भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मासुको उत्पादन ५ लाख ५२ हजार १५६ मेट्रिक टन पुगेको छ ।

एकै वर्षमा मासुको उत्पादन ह्वात्तै बढेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो वर्षमा मात्रै ३ हजार २२२ मेट्रिक टनले मासुको उत्पादन बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ४८ हजार ९३४ मेट्रिक टन मासुको उत्पादन भएको थियो ।

नेपालमा विशेष राँगा, भैँसी, कुखुरा तथा हाँस, माछा, खसी, बोका र सुंगुर तथा बुंगुरको मासु बढी प्रयोग गरिन्छ ।

व्यावसायिक सफलता निकालेको सीमित क्षेत्रमध्ये सफलता निकालेको क्षेत्रमा नाम आउँछ कुखुरा पालन र सो क्षेत्रसँग सम्बन्धीत उत्पादनसँग सम्बन्धित रहने व्यवसाय ।

जस अन्तर्गत कुखुराका चल्ला र दाना उत्पादन, पालन, मासु र अन्डा बिक्रीको श्रृंखलामा लाखौंले रोजगारीको अवसर सिर्जना गरेका छन् । गत आर्थिक वर्षमा पनि कुखुरा तथा हाँसको मासु सबैभन्दा धेरै खपत भएको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार गत वर्ष २ लाख ५५ हजार २८७ मेट्रिक टन कुखुराको मासु उत्पादन उपभोग भएको हो । एक वर्षमा १ लाख ८९ हजार ५१७ मेट्रिक टन मासु राँगा भैँसीको मासु उत्पादन तथा उपभोग भएको छ ।

त्यसैगरी पछिल्ला वर्षहरूमा खसीको मासुको उत्पादनमा पनि वृद्धि भइरहेको छ । पछिल्लो एक वर्षमा मात्रै ७७ हजार ७५८ मेट्रिक टन खसी, बोका, भेडाको मासु उत्पादन भएको हो । त्यसैगरी वर्षमा २९ हजार ४९३ मेट्रिक टन सुंगुर बुंगुरको मासु उत्पादन भएको विभागले जनाएको छ ।
मासुको उत्पादन तथा उपभोग वृद्धिले व्यावसायिक लाभ र रोजगारी सिर्जनामा मात्र योगदान छैन, पोषणका दृष्टिले पनि यो महत्त्वपूर्ण छ । पछिल्ला दशकहरूमा नेपालमा कुपोषितको संख्यामा ठूलो कटौति समेत भएको छ र पोषण स्थितिमा सुधार आएको छ ।

अघिल्लो आर्थिक वर्षमा २ लाख ५५ हजार मेट्रिक टन कुखुराको मासुको उत्पादन भएको विभागले जनाएको छ । त्यसैगरी अघिल्लो वर्ष १ लाख ९३ हजार मेट्रिक टन राँगाभैँसीको मासु खपत भएको थियो । त्यसका साथै ७० हजार ८०२ मेट्रिक टन खसी बोका तथा भेडा च्यांग्रा र ३० हजार १३२ मेट्रिक टन सुंगुर तथा बुंगुरको मासु उत्पादन तथा खपत भएको थियो ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालमा माछा मासुको उत्पादन पनि बढेको पाइएको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ३ हजार २८ मेट्रिक टनले माछामासुको उपभोग बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा ९७ हजार २७२ मेट्रिक टन माछामासुको खपत भएको थियो भने गत आर्थिक वर्षमा १ लाख ३०० मेट्रिक टन माछामासुको खपत भएको हो ।

अण्डाको उत्पादन र खपत

अहिले कुखुराको अण्डाको उत्पादन र खपत पनि झनै ठूलो छ । अहिले वार्षिक १ अर्ब ७८ करोड गोटा कुखुराको अण्डा उत्पादन र खपत हुन्छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा मात्रै पनि १६ करोड गोटाले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ६२ करोड गोटा अण्डा उत्पादन तथा खपत भएको थियो । अण्डा पोष्णका दृष्टिले पनि उत्तम मानिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।