सर्वोत्तमको शेयर प्रकरणमा अर्थमन्त्रीले अर्थ समितिका सचिवलाई झपारेपछि …


सर्वोत्तम सिमेन्टको शेयर प्रकरण अर्थसमितिमा पुगे पछि अर्थमन्त्री जनार्दन शर्मा रुष्ट भएका छन् । समितिले अर्थमन्त्रालयलाई पनि सो विषयमा छलफलका लागि बोलाउने निर्णय गरेपछि निम्तो लिएर मन्त्रालय गएका सचिवलाई अर्थमन्त्रीले झपारेका हुन् ।

शुक्रबार समितिले धितोपत्र बोर्ड र नेप्सेलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा अर्थमन्त्रीसँग पनि छलफल गर्ने निर्णय गरे पछि सचिव सुरेन्द्र अर्याल निम्तो लिएर मन्त्रालय गएका थिए । अर्यालले अर्थमन्त्रीलाई छलफलमा डाकिएको विषयमा जानकारी गराउने क्रममा मन्त्रीले उनलाई झिना मसिना कुरामा कनि अल्झिएको भनेर प्रश्न गरेका थिए ।

स्रोतका अनुसार अर्याललाई मन्त्रालयले अनुसन्धान गरिरहेको ठाउँमा तपाइहरु किन प्रवेश गरेको भनेर प्रश्न गरेका थिए । मन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, “यस्ता स सना इन्टीटीजमा समिति छिर्ने हो र ? पोलेसीमा पो छिर्ने हो ।”

पब्लिक कम्पनीका सम्बन्धमा समेत समितिमा छलफल हुने गरेको भन्दै समितिले नियामक निकायका प्रमुखहरु विवादमा मुछिएको सम्बन्धमा छलफल अपरिहार्य रहेको जनाएको छ । नोटबजारसँगको कुराकानीमा समितिका एक सदस्यले भने, “मन्त्रीले समितिलाई अनौपचारिक रुपमा प्रश्न उठाउने भन्दा पनि समितिले बोलाएको छलफलमा उपस्थित भएर विषय वस्तुको जानकारी गराउने हो ।” समितिमा छलफलका विषय मन्त्रीले टुङ्गो लगाउन नमिल्ने स्रोतको भनाई छ । “मन्त्रीको हस्तक्षेपलाई समितिले टेर्दैन,” उनले थपे, “समितिले दिएको निर्देशनलाई मन्त्रीले अटेरी गर्न मिल्दैन ।”

सर्वोत्तम सिमेन्टको शेयरमा नियामक निकायका प्रमुख तथा सञ्चालकहरुले गरेको लगानीको विवाद उत्कर्षमा पगे पछि अर्थमन्त्रालयले छानबिन गरिरहेको छ भने अर्थ समितिले पनि चरणबद्ध रुपमा छलफलहरु गरिरहेको छ ।

यस क्रममा नेप्से प्रमुख साउदले आफ्नो कमजोरी स्वीकार गरिसकेका छन् भने धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका चन्द्र प्रसाद ढकाल भने कानुनी छिद्रदामा टेकेर आफुहरु गलत नभएको दाबी गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।