धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । यस साता नेप्से सूचक १.७८ अंकको सामान्य वृद्धि भएर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ३१७९ बिन्दुमा रहेको नेप्से ३१८० दशमलव ७८ बिन्दुमा पुगेको हो । यस साताको बुधबार नेप्से सूचक ३१९९ दशमलव ०३ बिन्दुमा पुगेर अलटाइम हाइको नयाँ रेकर्ड बनाएको छ । यस्तै कारोबार रकम पनि बढेर एक खर्ब नजिक पुगेको छ ।
यस साता नेप्सेमा उल्लेख्य मात्रामा परिवर्तन नभए पनि कारोबार रकम समेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो ।
सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो । यद्यपि शेयर बजारमा भने केही कीर्तिमान समेत कायम भयो । नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो । बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ । यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ ।
कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए । कारोबार रकम औसतमा १८ अर्बको हाराहारीमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर ९७ अर्ब ५९ करोड १६ लाख ३७ हजार ८८६ मूल्यमा खरिद–बिक्री भए ।
साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम ग¥यो । त्यस दिन नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४ दशमलव ३३ अंकमा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९ दशमलव २८ अंकमा पुग्यो । कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो ।
कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए ।
साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम १५ अर्ब ९३ करोडमा सीमित भयो । त्यस दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो । आइतबारको तुलनामा नेप्से सम्हालिएर ५.७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६० दशमलव ०५ अंकमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ विन्दुले बढेर ५९२ दशमलव ९३ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद–बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । त्यस दिन कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रही ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार ग¥यो । सोमबार पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए ।
साताको तेस्रो दिन मङ्गलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । नेप्से ०.२३ विन्दुले बढेर तीन हजार १६० दशमलव ३१ अंकमा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ विन्दुले बढेर ५९३ दशमलव २८ अंकमा पुग्यो । कूल दुई सय २१ कम्पनीको तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता शेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद–बिक्री भए ।
मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा वृद्धि भयो छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही ८६ करोड ३८ लाख २४ हजार ७१७ बराबरको शेयर खरिद–बिक्री भयो । मङ्गलबार विभिन्न १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।
कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२.०४ विन्दुले बढेर तीन हजार १९२ दशमलव ३५ अंकमा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ विन्दुले बढेर ५९६ दशमलव ६६ अंंकमा पुग्यो । कूल २२८ कम्पनीको तीन करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ मूल्य बराबरको कारोबार भए ।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढ्यो । बुधबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो । कारोबारका आधारमा नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रही ७८ करोड ८७ लाख तीन हजार ५२० मूल्य बराबरको शेयर खरिद–बिक्री भयो । त्यस दिन विभिन्न ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।
लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्शन देखियो । त्यस दिन नेप्सेमा १८.२४ विन्दुले गिरावट आई तीन हजार १८० दशमलव ७८ अंकमा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ विन्दुले घटेर ५९० दशमलव १५ विन्दुमा सीमित भयो ।
कूल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही एक अर्ब १६ करोड ७८ लाख ३२ हजार ४३५ बराबरको शेयर खरिद–बिक्री भयो । बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया