‘सरकारले नीतिगत सुधार गर्यो, पूँजी बजार सुध्राने काम बैंकिंग क्षेत्रको’ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । सरकारले नीतिगत विकास गरिसकेकाले पूँजीबजारको ७५ प्रतिशत हिस्सा ओगटेको बैंकिङ क्षेत्रले पूँजीबजारको बिकास गर्नुपर्ने उनको भनाई छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गर्दै पूँजी बजार सुधार्न वाणिज्य बैंकहरुको भूमिका महत्वपूर्ण हुने अर्थमन्त्रीको भनाई छ ।

अर्थमन्त्री खतिवडाले दुई बर्षको अवधिमा लाभकर घटाउने, कर छुट गर्ने, भ्याट बिबाद हटाउने जस्ता नीतिगत व्यवस्था भईसकेकाले राम्रो परफर्मेन्स देखाएर आकर्षक प्रतिफल दिएर पूँजीबजार बढाउने र विकास गर्ने काम बैंकिंग क्षेत्रको भएको बताएका हुन ।

अर्थमन्त्री डा खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने सुझाब दिए ।  त्यस्तै उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताउँदै भने, “आर्थिक गतिविधि बढिरहेको छ । एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।”

अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत ४० करोड लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताए । उनले भने, “वित्तीय पुहँच र सबै नेपालीको बैंक खाता बनाउने अभियानलाई सहयोग गर्न बैंकले प्राथमिता दिएको छ । बैंक सुधारको आयोजना जारी रहेको छ ।”

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए ।

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गत आवका बैंकले  ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको र यस अवधिमा बैंकले एकद खर्ब ९० अर्ब रुपैंया निक्षेप संकलनगरी एक खर्ब ४४ अर्ब रुपैंया कर्जा लागनाी गरेको बताए ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।