इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते शुक्रबारदेखि नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले साउन १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले गत साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि एकीकृत कारोबार थालेका हुन् ।
यसअघि दुबै कम्पनीले गत असार २१ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट एक आपसमा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई १ बराबर ०.९८ को अनुपातको शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गरेको हो ।
कम्पनीका कार्यकारी अधिकृत प्रविणकुमार लामाले नेपाल एग्रो प्राप्तीपछि इन्फिनिटी लघुवित्तको चुक्ता पूँजी ३२ करोड ४६ लाख कायम भएको जानकारी दिए ।
एकीकृत कारोबारपश्चात कम्पनीले ३४२ जना कर्मचारीबाट ३९ जिल्लामा ८५ शाखाबाट सेवा प्रदान गर्न थालेको छ । लघुवित्तले ७४ हजार सदस्य संख्याबाट १ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १४ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया