पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निगम अझै एक अर्ब २८ लाख घाटामा


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १२८, डिजल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर एक हजार ४२५ रुपैयाँमा कारोबार हुँदै आएको ग्यास अब एक हजार ४५० रुपैयाँ पुगेको छ ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले वृद्धि भई ८६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ । निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ९६ करोड नौ लाख रुपैयाँ घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल १९ करोड, डिजलमा १९ करोड ६ लाख र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।