दुई दिनको सार्वजनिक विदापछि मंगलबार सातामा पहिलो दिन खुलेको शेयर बजारमा पहिलो दिनमा नै उच्च अंकको गिरावट आएको छ । अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घटेपछि नेप्सेमा आधा शतकभन्दा बढीको गिरावट देखा परेको हो ।
मंगलबार १४ हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । यसदिन आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, कालिका पावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडिसीएल, नेपाल हाइड्रो डेभलोपर, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यसैगरी पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन उर्जा विकास कम्पनी, र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशत धेरैले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा झरेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट आएसँगै अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कारोबार रकम पनि ४ अर्ब ३७ करोडको भारी गिरावट आएको छ । नेप्सेमा आएको पहिरोले बजार सूचक अझ घट्नसक्ने आंकलन गर्दै लगानीकर्ताले घट्दो मूल्यमा पनि अझ घटाएर शेयर खरीद गर्न खोजेको देखिन्छ ।
मंगलबार विशेषतः जलविद्युत समुहका कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ भने उच्च कारोबार हुने कम्पनीको सूचीमा पनि सोही समुहका कम्पनी अग्र स्थानमा रहेका छन् ।

कारोबारमा आएका फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समुहका सूचकमा रातो पोतिएको छ । जलविद्युत सर्वाधिक ६.२१ प्रतिशतले घट्दा लगानी ४.४३ र विकास बै.क ३.९८, उत्पादन २.११, ब्यापार १.६२ र अन्य १.४४ प्रतिशतले घटेको छ । बाँकी समुहका सूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।
यसदिन जीवन विकास लघुवित्त र गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स ७.४७ र नेको इन्स्योरेन्स ५.०६ प्रतिशतले बढेको छ । जनरल इन्सयोरेन्स, प्रिमियर इन्सयोरेन्स, मनकामना स्मार्ट लघुवित्त, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रिडी र आईसीएफसी फाइनान्सको मूल्य पनि ३.३७ देखि ४.४९ प्रतिशतसम्म बढेको छ ।
मंगलबार अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ७५.४३ करोडको शेयर कारोबारमा आएको छ । अरुण काबेली ७१.९१ करोड र नेशनल हाइड्रोपावरको ५८.५३ करोडको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर, नेपाल बैंक, आइसिएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स, अपि पावर, कामना सेवा विका बैंक, र नेको इन्स्योरेन्स शीर्ष कारोबार गर्ने दश कम्पनीमा अटाएका छन् । दशौं ठूलो कारोबार भएको नेको इन्स्योरेन्सको ३०.९१ करोडको शेयर कारोबारमा आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया