बैंकहरुबाट ४ दिनमा ८ अर्ब विदेशी मुद्रा झिकियो


चालु आर्थिक वर्षको दोस्रो महिना भदौको ४ दिन बाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ बरावरको विदेशी मुद्रा झिकिएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा पर्न सक्ने दवावका कारण बैंकहरुबाट खिचेपछि विदेशी मुद्रा घटेको हो ।

कोरोनाका कारण अस्तव्यस्त रहेको अर्थतन्त्रमा आर्थिक गतिविधि बढेसंगै आयातमा पनि उच्च दरको वृद्धि देखिएको छ ।

कोरोना संक्रमण दर कम भएको तथा खोप लगाउने संख्या पनि क्रमिक रुपमा बढ्दै गएपछि आर्थिक गतिविधिमा सुधार आएको छ । त्यसले गर्दा आयातमा आएको वृद्धिका कारण पनि विदेशी मुद्रा बाणिज्य बैंकहरुबाट बाहिरिएको हुनसक्ने बैंकहरुको भनाई छ । नेपाल राष्ट्र बैंकले पनि उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा असर गर्न सक्ने जनाउँदै आएको छ ।

यो अवधिमा बैंकहरुले विदेशी मुद्रामा कर्जा प्रवाह गरेका देखिँदैन । साउन महिनाको अन्तिम दिन १५२ अर्ब रहेको विदेशी मुद्राको कर्जाको आकार भदौ ४ गतेसम्म कुनै परिवर्तन भएको छैन । भदौ महिनाको पहिलो चार दिनमा १३० अर्ब निक्षेप रहेको विदेशी मुद्रा ८ अर्बले घटेर १२२ अर्बमा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुबाट ७८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । साउन महिनामा उच्च दरमा निक्षेप बाहिरिएको भएपनि बैंकहरुले ५७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् ।

तर, भदौ महिनाको सुरुका ४ दिनमा नै ७ अर्ब रुपैयाँ झिकिएको देखिन्छ । त्यसैगरी ७ अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीबाट झिकिँदा पनि बैंकहरुले १४ अर्ब रुपैयाँको कर्जा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको भदौ ४ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले स्वेदशी तथा विदेशी गरी कुल ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले विदेशी तथा स्वेदशी मुद्रामा प्रवाह गरेको कुल कर्जा ३७ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।