उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छाले धितोपत्र बोर्डको सञ्चालकमा अन्जन श्रेष्ठलाई पठाउँदै


नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट नेपाल धितोपत्र बोर्डको सञ्चालकमा अन्जन श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठलाई बोर्डको सञ्चालकका रुपमा पठाउने तयारी गरेका हुन् ।

सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिए पछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबारदेखि नै लागू हुने गरी बोर्डको सञ्चालकबाट राजिनामा गरेका थिए । ढकालले महासंघ अध्यक्षलाई बोर्ड सञ्चालकको हैसियतमा नबस्ने जानकारी गराएसँगै गोल्छाले श्रेष्ठलाई पठाउन लागेका हुन् ।

बुधबार महासंघले आफ्नो तर्फबाट प्रतिनिधित्व गर्दै आएका ढकाल अब सञ्चालकको हैसियतमा नरहने व्यहोरा धितोपत्र बोर्डलाई जानकारी गराई सकेको छ । साथै महासंघले नयाँ व्यक्तिको नाम पनि केही दिनमा नै बोर्डलाई जानकारी गराउने व्यहोरा पत्रमा उल्लेख गरेको छ ।

महासंघ अध्यक्ष गोल्छाले भारतमा रहेका वस्तुगततर्फका उपाध्यक्ष श्रेष्ठलाई फोन गरेर धितोपत्र बोर्डको सञ्चालकको रुपमा जान भनिसकेका छन् । भारतबाट फर्किए पछि श्रेष्ठलाई महासंघ अध्यक्ष गोल्छाले धितोपत्र बोर्डको सञ्चालक बनाएर पठाउने छन् ।

विगतका वर्षहरुमा नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्र बोर्डको सञ्चालक समितिमा वस्तुगत तर्फका उपाध्यक्षहरुले प्रतिनिधित्व गर्दै आएका थिए । महासंघ अध्यक्षले एकल निर्णयमा कार्यसमितिका पदाधिकारीलाई बोर्डमा सञ्चालकको रुपमा पठाउने प्रावधान छ ।

भवानी राणाले आफु महासंघको अध्यक्ष बनेका बेला वस्तुगततर्फका तत्कालिन उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई बोर्डको सञ्चालक बनाएर पठाउन खाजेकी थिइन् । विगतको अभ्यास अनुसार राणाले उमेशलाललाई बोर्डको सञ्चालक बनाउन खाजेकोमा महासंघका अर्का कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बोर्डको सञ्चालकमा आफ्नो दाबी दिएका थिए । जसका कारण विवाद उत्पन्न भए पछि भवानी राणाले पहिलो पटक तत्कालिन वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई धितोपत्र बोर्डको सञ्चालकका रुपमा पठाएकी थिइन् ।

गोल्छा महासंघको अध्यक्ष बने पछि पछिल्ला वर्षहरुको अभ्यासका आधारमा वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठलाई धितोपत्र बोर्डमा प्रतिनिधित्व गराउन चाहन्थे । गोल्छाले यसको तयारी गर्न लाग्दै गर्दा ढकालले वरिष्ठ उपाध्यक्षको हैसियतमा आफुले प्रतिनिधित्व गर्न पाउनु पर्ने दाबी गरेका थिए । पछिल्लो पटक वरिष्ठ उपाध्यक्ष गोल्छा बोर्डको सञ्चालक बनेको नजिर देखाउँदै ढकालले आफु बोर्डको सञ्चालक बनेर जाने अडान लिए पछि गोल्छाले ढकाललाई बोर्ड पठाएका थिए ।

अर्कातिर धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँगको गहिरो मित्रताका कारण पनि ढकाल बोर्डको प्रतिनिधि बन्न मलजल पुगेको थियो । उनीहरुको सम्बन्ध ढुङ्गाना नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा व्यवस्थापन विभागको प्रमुखको रुपमा कार्यरत रहँदादेखि नै मजवुत बनेको थियो । त्यस बेला ढकालले इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) को कारोबार बिस्तार गर्दा राष्ट्र बैंकका तर्फबाट विभागका प्रमुख रहेका ढुङ्गानाले सहयोग गर्ने गरेका थिए ।

तिनै ढुङ्गाना बोर्डको अध्यक्ष बने पछि बोर्डको सञ्चालक बन्न चाहना देखाएका ढकाललाई ढुङ्गानाले पनि सहयोग गरेका थिए । ढुङ्गाना अध्यक्ष र ढकाल सञ्चालक भएर विगतको झैं थप सहकार्य गर्दै अघि बढ्ने योजनामा भएको दुई जनाको सहमति अहिले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा आएर उदाङ्गिएको थियो ।

प्रकरण बाहिर आएसँगै अर्थ मन्त्रालयले छानबिन सुरु गर्दै गर्दा नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिए पछि ढकालले पनि नैतिक दवाबमा राजिनामा दिएका हुन् । योसँगै छोरी तथा परिवारका अन्य सदस्यको नाममा सर्वोत्तमको शेयर किनेका बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पनि नैतिक दवाब बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।