
गत आर्थिक वर्ष २०७७/७८ मा शेयर बजार सूचक मापक नेप्से १ हजार ५२१ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क अनुसार २०७७ असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २८८३.४० अंकमा पुगेको हो ।
बजार सूचकमा आएको ११.६४ प्रतिशतको वृद्धिसँगै लगानीकर्ताको सम्पत्ति मापक समग्र बजार पूँजीकरण पनि गत आवमा २२ खर्ब १८ अर्ब २० करोड रुपैयाँले बढेको छ । २०७७ असार मसान्तमा १७ खर्ब ९२ अर्ब ७६ करोडको आकारमा रहेको धितोपत्र बजार पूँजीकरण २०७८ असार मसान्तमा ४० खर्ब १० अर्ब ९६ करोड पुगेको हो । यो वृद्धि १२३.७३ प्रतिशत हुन आउँछ ।
२०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेकोमा ७ कम्पनी थपिएका हुन् ।
सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।
बैंक वित्तीय संस्था र बीमाको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.९ प्रतिशत
गत आवमा धितोपत्र बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।
चार खर्बको थप धितोपत्र सूचीकृत, ६१.६७ अर्बको धितोपत्र निष्काशन गर्न अनुमति
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असारसम्ममा सूचीकृत ५ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य ५७३ अर्ब २४ करोड रहेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ०४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । जसमध्ये २ खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड बराबरको बोनस शेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, १८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ६ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । जसमध्ये सबैभन्दा धेरै २३ अर्ब ४ करोड बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्डको इकाई निष्काशनको अनुमति दिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया