तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा कबिर २४ लाख जनाले आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ भर्ने अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २३ लाख ८८ हजार ३३२ जना आवेदकले ३ करोड १० लाख ९२ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४१.७९ गुणा बढी हो ।
कम्पनीको आईपीओ पाउन पनि भाग्यकै भर पर्नुपर्ने अवस्था देखिएको छ । कम्पनीको आईपीओ ३३ जना आवेदकमध्ये १ जनाले मात्र पाउने तथ्याङ्कले देखाउँछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कुल आवेदकमध्ये ३.१२ प्रतिशतले अर्थात ७४ हजार ४०० जनाले मात्रै गोालाप्रथाबाट १० कत्तिा शेयर पाउनेछन् ।
कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ जारी गरेको हो । कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँका दरले कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।
तेह्रथुम पावर कम्पनीले आईपीओबाट संकलन गर्ने रकम निर्माणाधिन अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी गर्ने जनाएको छ । सन् २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया