शेयर बजारमा अझै बिक्रीचाप हाबी, सूचक झिनो अंकले सुधारिँदा कारोबार घट्दो

0
Shares

पछिल्ला दुई दिनमा ११८ अंकको उच्च गिरावटपछि बुधबार शेयर बजारमा तीव्र उतार चढावको अवस्था देखा परेको छ । बजारमा खरीदचापभन्दा बिक्री चाप हाबी हुँदा बजार सूचकमा तीव्र घटबढको अवस्था देखा परेको हो । दिनभरमा ५७ अंकको उतारचढाव देखापर्यो ।

कारोबारको सुरुवातमा नै उच्च बिक्रीचापले थचारिएको बजार साढे १४ अंकभन्दा धेरै घटेर २९६१ अंकसम्म झरेको थियो । त्यसपछि खरीद चाप हाबी हुँदा फेरि बजार सूचक ४३ अंकले बढेर ३०१८ बिन्दुमाथि पुगेको थियो । बढेको बजारमा पुनः बिक्री चाप अधिक हुँदा सूचक दबाबा कायम रह्यो । सोही कारण फेरि ऋणात्मकसम्म धकेलिएको बजार अन्त्यमा १.१४ अंकको झिनो वृद्धि सहित बन्द भएको छ । बजार सूचकमा हरियो बत्ति बलेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

बुधबार नेप्से १.१४ अंकले बढेर २९७६ दशमलव ९८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेर ५५० दशमलव ६९ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २२६ वटा कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर कारोबारमा आएको छ । उक्त संख्याको शेयर १ लाख ४ हजार ३४२ पटक खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार १३ अर्ब २५ करोड भन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा ३ अर्ब ९१ करोडले शेयर कारोबार रकम घटेको हो ।

स्टकका अनुसार बिहीबर कारोबार भएका १३ मध्ये ४ वटा समूहको सूचक बढेको छ भने ९ घटेको छ । होटल तथा पर्यटन सर्वाधिक ३.७६ प्रतिशत बढेको बजारमा जीवन बीमा ०.४४ प्रतिशत, बैंकिङ्ग ०.४० र लगानी सूचक ०.०१ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७५ प्रतिशत सहित बाँकी समुहगत सूचक पनि १ प्रतिशतभन्दा कम घटेको छ।

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बुधबार सर्वाधिक ६० करोडको कारोबार भएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ३०.१४ करोड, अपि पावर, हिमालयन डिष्टिलरी, र रिडी हाइड्रोपावरको २२ करोड बढीको शेयर बिक्रीमा आएको छ ।

बुधबार रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७.५५ प्रतिशतका दरले कमाएका छन् । ओरियन्टल होटल, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन उर्जा विकासको मूल्य ६ प्रतिशतका दरले बढेको छ । सोल्टी होटल, एलआईसी, मनकामना स्मार्ट लघुवित्त, कालिका पावर, राष्ट्रिय बीमा कम्पनी संस्थापक, र नयाँ सारथी लघुवित्तको शेयरमूल्य बढेको छ ।

उता बुधबार नै ५० प्रतिशत नगद लाभांशमा शेयरमूल्य समायोजन भएको सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले गुमाएका छन् ।

यस्तै खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक र आईसिएफसि फाइनान्सको मूल्य ५ प्रतिशत धेरैले घटेको छ । डुडविल फाइनान्स, श्री इन्भेष्ट बैंकिङ्ग एण्ड फाइनानस, माउन्टेन इनर्जी नेपाल, बेष्ट फाइनान्स र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ता पनि बुधबारको बजारबाट ४ प्रतिशतभन्दा धेरै घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।