पर्यटन व्यवसायको पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनरकर्जा सुविधा उपलब्ध गराउन माग

0
Shares

नेपाल उद्योग परिसंघले पर्यटन व्यवसायीको पुनरोत्थानका लागि सम्पूर्ण व्यवसायीलाई विना धितो ऋण र कर पुनरकर्जा सुविधा उपलब्ध गराउन माग गरेको छ।

पर्यटन क्षेत्रसँग सम्बन्धित संघरसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा गरिएको छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने बताएका हुन्।

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन्।

छलफलका क्रममा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक र मजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन्।

छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन्। उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताए।

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघरसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन्। व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन्।

यसैगरी पिसिआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन्। सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताए। ‘हामी तपाईंहरूसँग छौँ, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गर्छौँ,’ उनले भने।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।