नक्कली अन्तःशुल्क स्टिकरको कारोबारी धरौटी दिन नसकेपछि जेल चलान


आन्तरिक राजस्व विभाग अन्तर्गतको धनगढी आन्तरिक राजस्व कार्यालयले नक्कली अन्तशुल्क स्टिकरको उत्पादन वितरण तथा पैठारी गर्ने समुहलाई जेल चलान गरेका छ । राजस्व कार्यालयले नक्कली अन्तशुल्क स्टिकरको कारोबारीले धरौटी दिन नसकेपछि जेल चालन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय धनगढीले आरोपितहरुसंग सात करोडका दरले कुल ५२ करोड रुपैयाँ धरौटी माग गरेको थियो । कार्यालयले माग गरे अनुसारको धरौटी भुक्तानी गर्न नसकेपछि अन्तः शुल्क ऐन अनुसार जेल चलान गरेको अन्तरिक राजस्व विभागका एक अधिकारीले जानकारी दिए ।

केही दिन अघि मात्र विभागको सहयोगमा राजस्व कार्यालय धनगढीले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्दै आएका हर्केष सिंह र संग्राम साउदको समुहलाई नै नियन्त्रण लिएको थियो । उनीहरुले अन्तःशुल्कको नक्कली स्टिकर भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत वितरण गर्ने कार्यमा सक्रिय रहेका थिए ।

सिंह र साउदले पटक–पटक भारतमा उत्पादन गर्ने र नेपाल ल्याई विभिन्न ट्रान्सपोर्ट मार्फत ससाना डिष्ट्रिलरीमा वितरण गर्ने गरेको आन्तरिक राजस्व विभाले फेला पारेको थियो । सिंह र साउद आफैले सञ्चालन गरेको वेष्टर्न लिकर्स मसुरिया कैलाली मार्फत पनि नक्कली स्टिकरको प्रयोग गरी कारोबार गरेको कर कार्यलयले भेटेको थियो । निज अभियुक्तहरुलाई अन्तःशुल्क ऐन २०५८ अनुसार धरौटी दिन नसकेपछि जेल चलान गरिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।