सरकारको खर्च गर्ने प्रवृत्ति फेरिएन, चालु आर्थिक वर्षको डेढ महिनामा एक प्रतिशत बजेट खर्च

0
Shares

चालु आर्थिक वर्ष सुरु भएको करिब डेढ महिना बित्न लाग्दा सरकारले कुल बजेटको १ प्रतिशत मात्र बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ १३ गतेसम्म १.०३ प्रतिशत अर्थात १५ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च भएको छ । आर्थिक वर्षको सुरुमा खर्च नै नहुने र आर्थिक वर्षको अन्त्यमा बजेट सकाउने गरि गरिने खर्च प्रणालीले भ्रष्टाचार र असारे विकासलाई प्रशय दिँदै आइरहेको छ ।

 गत वर्षको तुलनामा राजस्व संकलनमा भने सरकारले केही सुधार गरेको छ। सरकारको राजस्व संकलन भने गत वर्षको तुलनामा बढेको छ। गत वर्षको भदौ १२ गतेसम्ममा लक्षित राजश्वको ५.२४ प्रतिशत मात्र राजस्व संकलन गरेको सरकारले यस आर्थिक वर्षमा भदौ १३ गतेसम्म ८.२८ प्रतिशत राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य रहेकोमा डेढ महिना नपुग्दै ९२ अर्ब ११ करोड ४५ लाख रुपैयाँ बराबरको राजस्व संकलन हुनुले सरकारले चालु आर्थिक वर्षमा राजश्वको लक्ष्य भेट्टाउने देखिन्छ।

तर खचृ गर्ने परिपाटी भने उस्तै देखिएको छ । साढे १ महिना पुग्नलाग्दा १ प्रतिशत मात्र बजेट खर्च हुनुले चालु आवमा पनि त्यसले निरन्तरता पाउने संकते गर्छ। गत वर्ष यसै अवधिमा कूल बजेटको ४.२४ प्रतिशत खर्च भएको थियो।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। जसमा चालु खर्च अन्तरगत छुट्याएको ९ खर्ब ५७ अर्ब रुपैयाँमध्ये भदौ १३ गतेसम्म १३ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ अर्थात ४० प्रतिशत खर्च भएको छ। सरकारले गत आर्थिक वर्षको भदौ १२ गतेसम्ममा चालु खर्च अन्तर्गत कूल बजेटको ६.२६ प्रतिशत खर्च गरेको थियो। गत आर्थिक वर्षमा चालु खर्च बापत ८ खर्ब ४५ अर्ब रुपैयाँ छुट्याइएकोमा यसै अवधिमा ५२ अर्ब ९४ कारोड रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै पूँजीगत खर्च तर्फ पनि गत आर्थिक वर्षको तुलनामा कम खर्च भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा पूँजीगत खर्च अन्तरगत विनियोजित बजेटको ०.७३ प्रतिशत खर्च गरेकोमा यस आर्थिक वर्षमा भने ०.४६ प्रतिशत बजेट मात्र खर्च भएको छ। चालु आर्थिक आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च अन्तरगत छुट्याइएको ४ खर्ब ८ अर्ब रुपैयाँमा हालसम्म १ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ मात्र खर्च भएको छ।

त्यसैगरी बजेटमा वित्तीय व्यवस्था अन्तरगत छुट्याइएको १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा ०.२५ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको छ । गत बर्षको यसै अवधिमा वित्तीय व्यवस्थातर्फ बजेटको ०.२६ प्रतिशत रकम खर्च भएको थियो ।