शेयर बजार फेरि ४४ अंकको उच्च गिरावट, अलमलमा नयाँ लगानीकर्ता

0
Shares

शेयर बजार मंगलबार फेरि ४४.१८ अंकले घटेको छ । सोमबार १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमा पुगेका बजार सूचक नेप्से मंगलबार १.४८ प्रतिशतले घटेर २९३६.६० विन्दुमा झरेको हो ।

सोमबार जब्बर बाउन्सब्याक भएको बजार सूचक मंगलबार नै पुन: घटेपछि नयाँ लगानीकर्ता भने अलमलमा देखिएका छन् । पछिल्लो दिनहरुमा लगातार कुल २७६ अंकको गिरावटपछि सोमबार १६१ अंकको सुधारपछि आम लगानीकर्ताको बुझाई मंगलबार पनि बजार सकारात्मक गतिमा बढ्ने आंकलन थियो । तर आम लगानीकर्ताको बुझाई विपरित बजार घटेको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेको एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट पारेसँगै बजारमा पुनः उच्च अंकको गिरावट आएको हो ।

सोमबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्दै पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेपछि धितोसीमा फिर्ता हुने आंकलनका साथ बजारमा पौने ६ प्रतिशतको वृद्धि भएको थियो । सोमबार लगानीकर्ताले समेत मोटरसाइकल र्याली गरेर राष्ट्र बैंक पुगेर प्रवक्ता देवकुमार ढकाललाई १६ बुँदे ज्ञापनपत्र बुझाएर फर्किएका थिए ।  तर राष्ट्र बैंकले पहलिो त्रैमाकि समीक्षा अर्थात कार्तिकपछि मात्र नीतिको विश्लेषण गरेर मात्र उक्त व्यवस्थालाई पुनरविचार गर्ने बताएपछि त्यसको असरले मंगलबार पुनः बजारमा करेक्सन देखिएको हो ।

नेप्से मात्र होइन ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि मंगलबार ५.०५ अंकले घटेर ५४८ दशमलव ३५ बिन्दुमा झरेको छ । दिनभर कूल २२२ वटा कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५०८ वटा संख्यामा खरिदबिक्री हुँदा कारोबार रकम ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रूपैयाँ पुगेको छ । जुन अघिल्लो दिन सोमबारको तुलनामा २ अर्ब ३३ करोड रुपैयाँ कम हो ।

मंगलबार कारोबार भएका १३ उपसमूहगत सूचकमध्ये अन्य र म्युचुअल फण्ड बाहेक बाँकी ११ वटाको सूचक घटेको छ । अन्य १.०१ प्रतिशतले बढ्दा म्युचुअल फण्ड ०.५६ प्रतिशतले बढेको छ । होटल, निर्जीवन बीमा, र लघुवित्तको सूचक २ प्रतिशतभन्दा धेरै घट्दा बैंकिङ्ग, ब्यापार, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन र जीवन बीमाको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

मंगलबार युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक ६१.९२ करोडको कारोबार भएको छ । पछिल्लो केही दिनदेखि लगातार अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार हुँदै आएकोमा मंगलबार युनाइटेड मोदी हाइड्रोपावरको धेरै कारोबार भएको हो । अरूण भ्याली हाइड्रोपावरको ३८.४२ करोडको कारोबार भएको छ ।

शीर्ष दश ठूलो रकमको कारोबार हुने अन्य कम्पनीहरूमा अपि पावर, ज्योति विकास बैंक, रिडी हाइड्रोपावर, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । यी कम्पनीहरुको १२ देखि १९ करोडबीचमा कारोबार भएको छ ।

मंगलबार सानिमा लाईफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर ४५२.२० रूपैयाँ पुगेको छ । युनाइटेड मोदी हाइड्रोपावर ७.७८ र एचआईडिसीएल ५.१६ र आजै ६५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको युनिलिभर नेपालको मूल्य ५.०३ प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, नेपाल टेलिकम, रिडी हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्स संस्थापक र एनआईबिएल एस प्रगति फण्डको इकाईमूल्य बढेको छ । यी कम्पनीको मूल्य २.४६ देखि ४.०१ प्रतिशतसम्म बढेको छ ।

मंगलबार आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै ७.७३ प्रतिशत र रुरु जलविदूतका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले गुमाएका छन् । प्रोगेशिभ फाइनान्स, फस्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी नेपाल, आरएसडिसी लघुवित्त र नयाँ सारथी नेपाल लघुवित्तको मूल्य ५ प्रतिशत धेरैले घटेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त र लक्ष्मी लघुवित्तको शेयरमूल्य पनि पौन ५ प्रतिशतका दरले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।