आईसीटी अवार्डको छनौट सुरु, ११ विधामा ३५० बढीको आवेदन

0
Shares

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेसन खुला गरिएको थियो।

प्राप्त नोमिनेसनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइट आईसीटीअवार्ड डट ओआरजीमार्फत आह्वान गरिएको अनलाइन नोमिनेसनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ।

यस वर्ष छनौट प्रक्रियाको लागि सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञ व्यक्तिहरूको जुरी समिति गठन गरिएको छ।

यसैगरी राष्ट्रिय योजना आयोकका सदस्य डा. रामकुमार फुयाल, नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह, प्रा.डा. सुवर्ण शाक्य, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनिष पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त लगायत १५ जनाको विशिष्ट जुरी सल्लाहकार समिति रहेको छ।

यस वर्ष आईसीटी अवार्ड २०२१ को लागि राइजिङ स्टारदेखि डिजिटल गभर्नेन्स अवार्डसम्म प्रविधिका विभिन्न पक्ष र क्षेत्रलाई समेटेर ११ विधामा नोमिनेसन आह्वान गरिएको थियो।

अवार्डमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन्।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड छन्।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आईसीटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन्।

अनलाइनमार्फत प्राप्त नोमिनेशनमा राइजिङ स्टार इन्नोभेसनमा सबैभन्दा धेरै ६० बढीको नोमिनेशन प्राप्त भएको छ। यसैगरी स्टार्टअप आईसीटी अवार्ड र प्रडक्ट आईसीटी अवार्र्डमा ४० भन्दा बढी नोमिनेशनहरू प्राप्त भएको आयोजकले जनाएको छ। आईसीटी अवार्ड एकदमै पारदर्शी र निष्पक्ष रूपमा आयोेजना हुने अवार्ड भएको हुँदा यसले प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको त्रिविका प्रा।डा शुवर्ण शाक्य बताउँछन्।

अवार्डले नयाँ आइडिया र इन्नोभेसनमा काम गरिरहेकालाई अगाडी बढ्न प्रोत्साहन गर्ने हुँदा अवार्डको महत्व र आवश्यकता अझ बढिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले शुक्रवार आयोजित छनौट समितिको बैठकमा धारणा राखेका थिए।

आईसीटी अवार्ड २०२१ मा विभिन्न ५ चरणमा छनौट प्रक्रिया अगाडि बढाइनेछ। स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट १० लाई समेटेर दुईदिने प्रदर्शनी समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअप, डिजिटल गभर्नेन्स र डिजिटल एजुकेशनका प्रतिस्पर्धीहरूमा सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ। अन्य छनौट प्रक्रियाहरू भर्चुअल माध्यमबाट समेत सञ्चालन हुनेछन्।

अवार्डको फाइनल अर्थात् ग्राण्ड फिनाले कार्र्यक्रम डिसेम्बर १७ मा द सोल्टी होटलमा आयोजना हुने लिभिङ विथ आईसीटीले जानकारी दिएको छ।

सन् २०१६ देखि सुरु भएको आईसीटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन्।

गत वर्ष कोभिड १९ को महामारीको बीचमा पनि आईसीटी अवार्ड भव्यरूपमा सञ्चालन भएको थियो।

यस वर्ष अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विना धितो सहुलियत ऋण सुविधा, स्टार्टअप र आइडियामा लगानीको अवसर र अन्य महत्वपूर्ण सेवा तथा सुविधाहरू प्राप्त गर्नेछन्।

यस वर्ष आईसीटी अवार्डको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जेनस सोलुसन, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक लगायतको सहकार्य तथा सहयोग रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।