तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित सोलार फार्म प्राइभेट लिमिटेडबाट उत्पादित ५ मेगावाट सौर्य उर्जा नेपाल विद्युत प्राधिकरणको बेलचौतारास्थित सव स्टेशन मार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
फार्मले मंगलबार आयोजना स्थलमा विशेष कार्यक्रम गरी औपचारिक रूपमा विद्युत उत्पादन सुरु गरेको हो । विद्युत उत्पादन शुरु गरेसँगै उत्पादित विजुली करिब ५०० सय मिटर दूरीमा रहेको बेलचौतारा सबस्टेसनमा लगेर जोडिएको हो । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले भुसालले बेलचौतारा सौर्य उर्जा परियोजनाको स्वीच थिचेर मंगलबार उद्घाटन गरेकी हुन् ।
७५ प्रतिशत वैदेशिक लगानी रहेको आयोजनाबाट उत्पादित बिजुली १५ दिनसम्म परीक्षण उत्पादन हुनेछ । परीक्षणको चरण पूरा भएपछि २ सातापछिबाट यो सौर्य विद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गर्नेछ । पीपीए सम्झौताअनुसार फार्मले नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट ७.३० रुपैयाँमा बिक्री गर्नेछ । आयोजनाबाट वार्षिक ८७ लाख युनिट विद्युत उत्पादन हुने जनाइएको छ ।
पाँच मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई बिक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ वर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ । सोलार फार्मले भानुभक्त बहुमुखी क्याम्पसको १ सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर आयोजना सञ्चालन गरेको हो । विद्युत उत्पादनका लागि १३ हजार ४९४ प्यानल राखिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतको उत्पादन बढाएर इन्धनको आयात रोक्न सरकारले नवीकरणीय उर्जाको विकास गरी व्यापार घाटा कम गर्ने नीति लिएको बताइन् ।
उनले सौर्य विद्युत आयोजनाबाट पीपीए गरी प्रणालीमा आउने यो पहिलो आयोजना भएकाले समय लागेपनि अब आउने आयोजनाका लागि बाटो सहज भएको उनको भनाई थियो । उनले सोलार लगायतका नवीकरणीय उर्जामार्फत् गरिबी निवारण गर्न सकिने पनि बताइन् ।

बेलचौतारा सौर्य उर्जा परियोजना भएको फार्मका अध्यक्ष मोहन गुरुङले कुल ४३ करोड लगानीमा एउटा आयोजना सफल भएसँगै अब थप १५ मेगावाटका २ आयोजना अघि बढाउन लागिएको बताए । सोलार फार्मले स्थानीयका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने पनि अध्यक्ष गुरुङले बताए ।
उक्त परियोजनमा कुमारी बैंक, डोल्मा इमप्याक्ट फन्ड, नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समूहसँगै एनआरएनए र स्थानीयबासीले समेत लगानी गरेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया