बेलायतले नेपालमा प्रत्यक्ष विदेशी लगानी बढाउन सहयोग गर्ने

0
Shares

नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।

नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै बेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताए । ‘नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले ।

राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताए । उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने पनि उल्लेख गरे । ‘हरित ऊर्जा प्रवद्र्धनका लागि निजी क्षेत्रले काम गर्न सक्छ,’ राजदूत पिलोटले भने । कोभिड – १९ को नकारात्मक प्रभाव आम जीवन र उद्योग व्यवसायमा परेको भन्दै उनले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे।

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै सीपयुक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए । उनले सीप विकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे ।

नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले बताए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अघियान अघि बढाइएको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले परिसंघले स्टार्ट अप प्रवद्र्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको भन्दै साना व्यवसायलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको प्रसस्त संभावना रहेको बताए । यसैगरी परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले अर्थतन्त्रका विकासका लागि विभिन्न क्षेत्रलाई अघि बढाएको जानकारी गराए ।

यसैगरी परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिडले थला परेको नेपालको पर्यटन प्रवद्र्धनका लागि दूतावासले सहयोग गर्न सक्ने उल्लेख गरे । उपाध्यक्ष शाहले परिसंघले नेपालको पर्यटन उद्योगको विकास एवं प्रवद्र्धनका लागि योजनाबद्ध काम गर्ने बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।