बैंक ब्याजदर नबढ्ने र ब्याजदर बढाएका केहि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना योजना फिर्ता लिएपछि यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ।
बुधबारको शेयर बजार झण्डै १०५ अंक अर्थात ३.८७ प्रतिशतले बढेर २८१६.९५ अंकमा उक्लिएको छ । बजार खुलेदेखि नै निरन्तर उकालो लागेको नेप्से कारोबारको मध्यतिर तल झर्न खोजेपनि कारोबार बन्द हुनेसमयसम्म १०४.८८ अंकले उक्लिएर बन्द भएको छ ।

साढे दुई सय अंकको गिरावटपछि मंगलबार बजार १३ अंकले बढेको थियो । बुधबार सय अंक बढीले बजार बढेपछि शेयर बिक्रीको चाप केहि घटेको छ । झण्डै ५ सय अंकसम्म झरेको बजार विस्तारै फर्कन थालेपछि लगानीकर्ताको मनोबल समेत बढेको छ । जसले गर्दा शेयर होल्ड गर्नेहरु बढेपछि कारोबार रकममा शिथिलता आएको छ ।
करिब १०५ अंकले बृद्धि भएको बजारमा ६ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ। यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ। सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको २३ करोडको शेयर कारोबार भएको छ।
बुधबार दुई दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने केहि म्युचुअल फण्ड र ऋणपत्रको मात्रै मूल्य केहि घटेको छ। बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक लगायतको शेयरमूल्य उच्चदरले बढेको छ ।

बुधबारको बजारमा कारोबारमा आएका सबै उपसमूहको सूचक सकारात्मक देखिएकमा छन्। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ७.७४ प्रतिशतले बढेको छ।
असोज महिनामा उच्च रुपले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको निर्देशनपछि ब्याजदर संशोधन गर्न थालेका छन्। केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा रोक्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशन पश्चात केहि संस्थाहरुले ब्याजदर सच्याएपछि बजार सकारात्मक बनेको हो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया