एक महिनामा १७ अर्ब ७३ करोडको धितोपत्र सूचीकृत

0
Shares

चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो महिनामा धितोपत्र बजारमा १७ अर्ब ७३ करोड बढीको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेञ्चर र हकप्रद गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १३ अर्ब ७५ करोड रुपैयाँ बराबरको डिबेञ्चर, २ अर्ब ८८ करोड बराबरको साधारण शेयर, ५७ करोड ३९ लाख बराबरको बोनस शेयर र ५२ करोड ४१ लाख बराबरको हकप्रद शेयर गरी कुल १७ अर्ब ७३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५७ करोड बराबरको साधारण शेयर र २४ करोड ३३ लाख बराबरको हकप्रद शेयर गरी कुल ४ अर्ब ८२ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

२०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । २०७७ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६८.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ९.८ प्रतिशत, लगानी कम्पनीको ८.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.८ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ आश्विन २०७८, बिहिबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।