आर्थिक गतिविधिसँगै हुण्डिको कारोबार पनि बढ्यो, १७ अर्बले घट्यो रेमिट्यान्स

0
Shares

कोरोना संक्रमणदरमा कमी आएसंगै पुनः सुरु भएको आर्थिक गतिविधिले हुण्डिको कारोबार बढाएको छ । औपचारिकसंगै अनौपचारिक अर्थतन्त्रले पनि गति लिएपछि हुण्डिको कारोबार बढेका कारण रेमिट्यान्स आप्रबाहमा करिब १७ अर्बले कमी आएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा कोरोनाका कारण लकडाउन भएको अवस्था थियो । सो अवधिमा रेमिट्यान्स बैंकिङ च्यानल मार्फत नेपाल भित्रिएको थियो । त्यसले गर्दा पनि रेमिट्यान्स आप्रबाहमा करिब २३ प्रतिशतको सुधार आएको थियो ।

तर, चालु आर्थिक वर्षको साउन महिनामा आर्थिक गतिविधि बढेसंगै रेमिट्यान्स आप्रबाहमा करिब १८ प्रतिशतले कमी आएको छ । यो अवधिमा आयात पनि बढेको र विदेशबाट नेपाल पठाउने रकम नेपाल नपठाई हुण्डिमार्फत सेटल गरेको हुनाले रेमिट्यान्समा कमी आएको विज्ञहरुको भनाई छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले घटेको छ । सो अवधिमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १३ हजार ८ सय पुगेको छ । गत आवमा सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । गत अवाको साउनमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

चालु आवको साउनमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । गत आवमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।