सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा दर्ता सहयोगी बिना नै सहभागी हुन सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले दर्ता सहयोगी बिना नै बीमामा सहभागी हुनका लागि मोबाइल एप्लिकेशन तयार गरी कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको हो ।
बोर्डले सबै नागरिकलाई बीमाको दायरामा समेट्नका लागि प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्ने लक्ष्यका लागि यस्तो सेवा ल्याउन लागेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए । मोबाइल एप्लिकेशनमार्फत आफैले बीमा गर्न सकिने बोर्डको दाबी छ । उक्त एपमार्फत बीमाको प्रिमियम तिर्न मिल्ने, बीमा गर्ने सबैले आफ्नो कति रकम खर्च भयो, कति बाँकी छ भनेर हेर्न समेत मिल्ने बोर्डको भनाई छ । उक्त एप्लिकेशन मंसिर महिनाबाट सुचारु गरिने बोर्डले जनाएको छ । 
स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्ष २०७७/७८ मा करिब ५ अर्ब रुपैयाँ दाबी वापतको रकम भुक्तानी गरेको छ । बोर्डले बोर्डमा सूचीकृत भएका सेवा प्रदायक अस्पतालहरुलाई उक्त वधिमा ४ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
सरकारले गत आर्थिक वर्षको बजेट मार्फत बोर्डलाई ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले बजेट मार्फत दिएको उक्त रकम बोर्डले दाबी वापत भुक्तानी सेवा प्रदायक संस्थालाई उक्त रकम भुक्तानी गरेको हो ।
गत असार महिनाको ९ गतेसम्म सो रकम भुक्तानी गरेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी गराए । त्यस पछि भने सेवा प्रदायक संस्थालाई कुनै पनि रकम भुक्तानी गर्न नसकेको उनले बताए ।
‘गत आर्थिक वर्षको लागि सरकारले विनियोजन गरेको सबै रकम भुक्तानी गर्यो, चालु आर्थिक वर्षको लागि पनि सरकारले साढे ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । तर अझैसम्म बजेट आएको छैन ।” उनले भने । उनले बजेट नआए पछि असार महिनादेखि सेवा प्रदायक अस्पतालहरुलाई भुक्तानी गर्न नसकेको जानकारी दिए । अझै ४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समेत जानकारी गराए ।
बोर्डमा गत असारदेखि स्वास्थ्य बीमा कोषको स्थापना भएको उनले बताए । उक्त कोषमा सरकारले दिएको रकम र बीमितबाट संकलन भएको रकम संकलन हुने र सोही रकम बोर्डले खर्च गर्न मिल्ने उनले जानकारी गराए । असार देखिनै कोषको स्थापना भएपनि रकम जम्मा हुने प्रक्रियामा रहेको बोर्डको भनाई छ ।
यस्तै, वैदेशिक रोजगारीमा जानेहरुले परिवारको अनिवार्य रुपमा स्वास्थ्य बीमा गराएर मात्रै जानु पर्ने भएको छ । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा
कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा आफ्नो परिवारको बीमा गराएर मात्रै विदेश जानु पर्ने भएको हो ।
स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि, २०७८ बनाई कार्यान्वयनको चरण रहेको बताएको छ ।
बोर्डले देशभरका ७५ जिल्लाका ७३६ स्थानीय तहमा कार्यक्रम विस्तार गरेको छ । कार्यक्रम विस्तार भएको जिल्लाको कुल जनसंख्याको १८.६२ प्रतिशत कभरेज भएको बोर्डको तथ्यांक छ । बोर्डले ४२८ वटा सेवा प्रदयाक अस्पतालहरुमार्फत बीमितलाई सेवा दिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया