नेप्सेमा अल टाइम हाईको रेकर्डमा कायम मूल्यभन्दा ४३% सम्म घट्यो सूचीकृत कम्पनीको शेयरमूल्य

0
Shares

शेयर बजार सूचक २०७८ भदौ २ गते बुधबार अर्थात २०२१ अगस्ट १८ तारिखमा सबैभन्दा उच्च बिन्दु अर्थात ३ हजार २०० बिन्दुसम्म पुगेको थियो ।

नेप्सेले उच्च बिन्दु कायम गरेसँगै सूचीकृत कम्पनीको मुल्य पनि उच्चबिन्दुमा पुग्यो ।

त्यसको एक महिना अवधि अर्थात असोज ७ गते बिहीबार कायम मूल्यलाई हेर्ने हो भने केहीलाई छाडेर लाभांश सिजनमा नै सबैजसो कम्पनीको मूल्य घटेको छ ।

भदौ २ र असोज ७ मा कारोबार भएको अन्तिम मूल्यलाई तुलना गर्दा ४३ प्रतिशतसम्म कम्पनीको शेयरमूल्य तल झरेको अवस्था छ । हेरौं कुन समुहमा कुन कम्पनीको मुल्य कति घट्यो ?

वाणिज्य बैंक

गत भदौ २ गते र असोज ७ गतेको शेयरमूल्यलाई आधार मानेर हेर्दा वाणिज्य बैंकहरुको शेयरमूल्य १ देखि करिब १३ प्रतिशतसम्म घटेको छ । यस अवधिमा सिटिजन्स बैंकको शेयरमूल्य सबैभन्दा कम १.५९ प्रतिशत घटेर प्रतिकित्ता ४०८.५० रुपैयाँ रहेको छ भने एनसीसी बैंकको सबैभन्दा धेरै १२.७४ प्रतिशत घटेर प्रतिकित्ता ३२१ रुपैयाँमा झरेको छ ।

जलविद्युत कम्पनी

जलविद्युत कम्पनीतर्फ सूचीकृत ४२ कम्पनीमध्ये रैराङ हाइड्रोपावर र हालै मात्र कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत बाहेक सबैको मूल्य घटेको छ ।

यस अवधिमा ङादी ग्रुप पावरको शेयरमूल्य सबैभन्दा धेरै ४३.१८ प्रतिशतले घटेर ७१३ मा झरेको छ । गत आवको २० प्रतिशत बोनस समायोजनका कारण पनि कम्पनीको मूल्य धेरै घटेको हो । रुरु जलविद्युत, सिनर्जी पावर, बरुण र माउन्टेन हाइड्रो नेपालको मूल्य धेरै घटेको छ ।

लघुवित्त

नेप्सेमा सूचीकृत रहेको ४१ लघुवित्त कम्पनीमध्ये असोज ७ गते बिहीबारसम्ममा ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २३.६० प्रतिशतले घटेर १०१० रुपैयाँमा झरेको छ । यस अवधिमा ३८ लघुवित्तको मूल्य भदौ २ गतेभन्दा घटेको छ । स्वरोजगार लघुवित्तको ०.४१ प्रतिशत, जीवन विकास लघुवित्तको २०.११ र मनकामना स्मार्ट लघुवित्तको २७२ प्रतिशतले मूल्य बढेको छ ।

बीमा कम्पनी

सूचीकृत जीवन तथा निर्जीवन ३१ कम्पनीमध्ये भर्खरै कारोबारमा आएको सानिमा लाइफ इन्स्योरेन्स बाहेक यस अवधिमा सबै ३० कम्पनीको मुल्य घटेको छ । अजोड इन्सयोरेन्सको मूल्य सबैभन्दा कम ७.४० प्रतिशतले घट्दा युनियन लाइफको मूल्य सर्वाधिक २१.२६ प्रतिशतले घटेको छ ।

फाइनान्स कम्पनी

नेप्सेमा अल टाइम हाइडको रेकर्डपछि सूचीकृत १५ वटै फाइनान्स कम्पनीको मूल्य घटेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुको मूल्य ६.८७ देखि २६.८० प्रतिशतसम्म घटेको छ । जानकी फाइनान्सको सबैभन्दा कम घट्दा नेपाल फाइनान्स सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।

विकास बैंक

भदौ २ गतेको शेयरमूल्य र असोज ७ गते शेयरमूल्यलाई आधार मान्दा सबै विकास बैंकको शेयरमूल्य घटेको पाइएको छ । यस अवधिमा विकास बैंकको मूल्य साढे ३७ प्रतिशतसम्म घटेको छ । भदौ २ मा प्रतिकित्ता ११०८ रहेकोएक्सेल डेभलपमेन्ट बैंकको मूल्य ३७.६४ प्रतिशतले घटेर ६९१ म झरेको छ ।यस बीचमा बैंकको १२ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद समायोजनका कारण पनि मूल्य उच्च घटेको हो ।

गत भदौ २ गते ९४५ रुपैयाँ रहेको नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा कम ५.८८ प्रतिशतले घटेर असोज ७ गते ८८९.४० रुपैयाँमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।