दुई महिनामा दुई खर्ब ७० अर्ब व्यापार घाटा

0
Shares

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएपनि ब्यापार घाटा भने चुलिएको छ । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालको व्यापार घाटा ७०.७५ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार दुई महिनामा नेपालले दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिमा एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापार घाटा बेहोरेकोमा पछिल्लो वर्ष मात्रै १ खर्ब १२ अर्बले घाटा चुलिएको हो ।

चालु आव २०७८।७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ भने ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ । समीक्षा अवधिमा आयातमा ७५.८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो ।

गत आव २०७७।७८ को दुई महिना अवधिमा एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात हुँदा २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो ।

पछिल्लो दुई महिनामा नेपालले तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।

दुई महिनाको अवधिमा ११८ देशबाट तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । जसमध्ये भारतबाट सबैभन्दा धेरै एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ ।

समीक्षा अवधिमा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा १५ करोड ८० लाख बराबरको निर्यात भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।