चालु आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले संकलन गर्ने कुल बीमाशुल्क रकम ३४.२२ प्रतिशतले बढेको छ ।
बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ साउन र भदौ मसान्तसम्मको विवरण अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
अघिल्लो आव २०७७/७८ को दुई महिना (साउन-भदौ) मा बीमा कम्पनीहरुले २५ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा संकलन गरेका थिए । समीक्षा अवधिमा कम्पनीहरुको बीमाशुल्क ८ अर्ब ८० करोड ४७ लाख २० हजार रुपैयाँ अर्थात ३४.२२ प्रतिशतले बढेको हो ।
विसं २०७८ भदौ मसान्तसम्मको २ महिना अवधिमा जीवन बीमा कम्पनीहरुले २८ अर्ब १३ करोड ६६ लाख २० हजार र निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले २० अर्ब ९६ करोड र निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
२०७८ भदौ मसान्तसम्ममा (वैदेशिक रोजगार बीमालेख सहित) कुल जनसंख्याको २७.५२ प्रतिशत जनसंख्या बीमाको दायराभित्र आएका छन् । अघिल्लो आवको यसै अवधिमा २५.१९ रहेकोमा समीक्षा अवधिमा २.३३ प्रतिशतले विस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखबाहेकको तथ्याङ्क हेर्ने हो भने २२.३७ बाट ३.२२ प्रतिशत वृद्धि भई २५.५९ प्रतिशत पुगेको छ ।
पछिल्लो एक वर्षको तथ्याङ्कका आधारमा हेर्दा कुल जीवन बीमालेखको संख्या १०.८४ प्रतिशतले बढेर ८७ लाख ९६ हजार ८८ पुगेको छ भने निर्जीवन बीमातर्फ ७.६६ प्रतिशत बढेर ४ लाख ७३ हजार २६४ पुगेको छ ।
भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी अघिल्लो वर्षको यसै अवधिको तुलनामा १७.९६ प्रतिशतले वृद्धि भई ३९ अर्ब ४४ करोड ६९ लाख पुगेको छ । निर्जीवन बीमा कम्पनीको पूँजी यस अवधिमा १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख पुगेको छ ।
एक वर्षको अवधिमा बीमा कम्पनीहरुले १ हजार १३ वटा शाखा कार्यालय विस्तार गरेका छन् । वि.सं २०७७ भदौमा १० हजार ९१ रहेको शाखा संख्या २०७८ भदौ मसान्तमा ११ हजार १०४ पुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया