सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा नेप्सेमा सुधार, ५१ करोडको कारोबार

0
Shares

केहि साता यतादेखि निरन्तर ओरालो लागेको शेयर बजारमा मंगलबार चमत्कारिक सुधार देखिएको छ ।

११७० अंक सम्म झरेको बजारमा सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा कारोबार रकम आधा अर्ब नाघेको छ भने नेप्से सूचक समेत २० अंकले उकालो लागेको छ ।

मंगलबार बजार परिसूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० को बिन्दुमा उक्लिएको छ। यसदिन १७१ कम्पनीका २१ लाख ८४ हजार २७१ कित्ता शेयर ५१ करोड ५ लाख ५२ हजार रुपैयाँ बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १० करोडले बढी हो।

कारोबारमा आएकामध्ये अन्य तथा म्युचुअल फण्ड उपसूचक बाहेक सबै समूहका उपसूकच सकारात्मक रहे । बजार घटेर तल्लो विन्दुमा पुग्दा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले शेयर खरिदको क्रम बढाएका छन् । शेयर कारोबार लाग्ने पूँजीगत लाभकर भुक्तानी गर्दा ल्याप्चे लगाउनु नपर्ने गरि सिडिएससीले सफ्टवेर तयार पारेर परिक्षण थालेकाले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।

मंगलबार बाणिज्य बैंकको शेयरमा आएको उछालले समग्र नेप्से सूचकमा बढेको हो। बाणिज्य बैंकको सूचक मात्रै १८.९८ अंक अर्थात १.७८ प्रतिशतले बढेको छ। नेपाल बंगलादेश बैंकको संस्थापक शेयर ५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल बैंकको तीन करोड २९ लाख रुपैयाँको भएको छ।

सबैभन्दा बढी युनिभर्सल पावरका लगानीकर्ताले ९.४६ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता छन् । यसको भाउ ४.८५ प्रतिशतले घटेको छ ।