नेप्से वृद्धि टिकेन: सूचक साढे ३२ अंकले ओरालो लाग्दा कारोबार १ अर्ब ३२ करोडले खुम्चियो

0
Shares

शेयर बजार सूचक मापक नेप्से साताको अन्तिम दिन बिहीबार ३२.५१ अंकले घटेको छ । बुधबार ५० अंकले उकालो लागेको नेप्सेमा बिहीबार पुनः बिक्री चाप हाबी भएपछि बजार सूचसँगै कारोबार रकममा पनि गिरावट आएको हो ।

यसदिन नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा झरेको छ । दिनभर २२५ कम्पनिको ७३ करोड २१ लाख कित्ता शेयर ४९ हजार ८३५ पटक कारोबार हुँदा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज कारोबार रकम पनि १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँले घटेको हो । बुधबार ५ अर्ब २ करोड ८५ लाखको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये आज व्यापार, अन्य र म्यचुअल फण्ड बाहेक सबै राताम्य भएको छ । व्यापार ३.९२ र अन्य र म्यचुअल फण्ड सामान्य बढेका छन् ।

विकास बैंक सूचक सर्वाधिक ३.१८ प्रतिशतले घटेको छ भने फाइनान्स २.९८ र जलविद्युत २.८४ प्रतिशतले घटेको छ । बैंकिङ्ग, होटल, उत्पादन, र लगानी सूचक पनि १ प्रतिशतभन्दा धेरैले ऋणात्मक भएको छ ।

बिहीबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज मैलङ खोला जलविद्युत कम्पनी, मनकामना स्मार्ट लघुवित्त, र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मैलङ खोलाको प्रतिकित्ता २९५.९०, मनकामना स्मार्ट लघुवित्तको २११९.७० रुपेयाँ र नेपाल फाइनान्सको ५२८ रुपेयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन रुरु जलविद्युतको ६.०५ प्रतिशत, सिभिल लघुवित्त र सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य ५ प्रतिशत धेरेले बढ्दा महिला लघुवित्त, साल्ट ट्रेडिङ्ग, एभरेष्ट इन्स्योरेन्स संस्थापक र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य पनि बढेको छ ।

आज गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.९६ प्रतिशतका दरले गुमाएका छन् । प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनर कम्पनीको मूल्य पनि ६ प्रतिशत धेरैले घटेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशत भन्दा धेरैले घटेको छ । राधी विद्युत र युनियन हाइड्रोपावर पनि शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।
बिहीबार नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १२ करोड ७७ हजार रुपैयाँ बराबरको करोबार भएको छ । अपि पावर १०.८३ करोड र मेगा बैंकको १०.०९ करोडको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरी, पुनर्बीमा कम्पनी, सूर्या लाइफ संस्थापक, सिटिजन्स बैंक, नेशनल हाइड्रोपावर, एनआईसी एशिया बैंक र रिडी हाइड्रोपावरको धेरै कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको रिडीको ७.०७ करोडको शेयर कारोबारमा आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहिबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।