![]()
सुनको आयात बढी भएकाले शोधान्तर घाटा चुलिएको भन्दै अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले दुई हप्ता अगाडि सुनचाँदी व्यवसायीहरुसँग मागेको सुन वितरणको विवरण नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुझाएको छ भने नेपाल सुनचाँदी व्यवसायी महासंघले बुझाउने अन्तिम तयारी गरेको छ ।
रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपाल राष्ट्र बैंकले विवरण मागेको एक साताभित्रै असोज ८ गते विवरण बुझाएको नोटबजारलाई जानकारी दिए । उता सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि व्यवसायीहरुबाट केही विवरण आउन बाँकी रहेकाले छिट्टै विवरण बुझाउने बताएका छन् ।
रत्न तथा आभुषण महासंघले असोज ८ गते नै विवरण बुझाइ सकेको अध्यक्ष महर्जन बताउँछन् । उनले भने, हामीले राष्ट्र बैंकले दिएको समय ७ दिन भित्र नै विवरण बुझाइ सकेका छौं । हामी आफ्नो पालो कहिले आउँछ भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।’ उनका अनुसार काँचो सुन नपाएर व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ । अहिले उपलब्ध सुनले व्यवसयीहरुलाई देशभित्रको माग धान्न नै नपुग्ने अवस्था छ देश बाहिर कसरी जान्छ ? उनले प्रतिप्रश्न गरे ।
उता महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार सबै व्यवसायीको प्यान नम्बर रउनीहरुले गरेको कारोबार जम्मा पार्ने क्रम जारी छ । उनले भने, ‘हामीले तथ्यांक एउटा जिल्ला अथवा ठाउँबाट मात्र नभई देशभरीबाट विवरण मगाउनुपर्छ । त्यसैले केही समय लाग्ने भएको हो । एक दुई दिनमा नै हामीले राष्ट्र बैंकमा विवरण बुझाउँछौं ।”
दैनिक १५ केजीबाट बढाएर २० केजी सुन वितरण हुँदा पनि बजारमा सुनको अभाव भएको व्यवसायीले बताएपछि केन्द्रीय बैंकले असोत लागे लगत्तै व्यवसायीलाई सुन कसरी वितरण भैरहेको छ भनेर त्यसको विवरण लिखित रुपमा उपलब्ध गराउन पत्र पठाएको थियो ।
चाडपर्व तथा सिजनका समयमा नेपालमा दैनिक ४० किलोसम्म सुन खपत हुने व्यवसायीहरु बताउँछन् । केही वर्ष मात्र दैनिक १० किलो सुनले बजारको अभाव पूरा गर्ने गरेको थियो । तर चालु आवको पछिल्लो दुई अहिले ग्यास भन्दा बढी सुन आयात भएपनि बजारमा सुनको अभाव टर्न सकेको छैन ।
भन्सार विभागको तथ्याङ्क अनुसार दुई महिनामा ८ अर्ब ३५ करोड रुपैयाँको १ हजार २१५ किलो सुन तथा ६ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको ६९ हजार १५२ केजी चाँदी आयात भएको छ । यस अवधिमा ७ अर्ब ९९ करोड रुपैयाँको मात्रै ग्याँस आयात भएको भन्सार विभागको तथ्याङ्क छ । गत आव २०७७।७८को एक वर्ष अवधिमा जम्मा ३ हजार १६८ किलो सुन आयात भएको थियो । तर अहिले साउन र भदौ महिनामा मात्र १ हजार २१५ किलोको सुन आयात भैसकेको छ ।
यसरी बजारमा सुन आयात बढेर शोधान्तर घाटा चुलिएपछि नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुनचाँदी व्यवसायीहरुसँग कसले कसरी सुन लगिरहेको छ भनेर अनुसन्धान थालेको हो । केन्द्रीय बैंकले व्यवसायीसँग लिखित रुपमा कसरी सुन वितरण भइरहेको छ भनेर विवरण माग गरेको हो ।
सुनको आयात बढिरहे पनि बजारमा सुनको अभाव कायम नै रहेको व्यवसायीहरुले जनाएका छन् । चाडपर्व र सिजनको बेला सुनको खपत बढेकोले बजारमा अभाव भएको भन्दै व्यवसायीहरु बेला बेलामा नेपाल राष्ट्र बैंक पुगीरहेका छन् । केही दिन अघि मात्र पनि महासंघका टोली आयात कोटा बढाउन माग गर्दै राष्ट्र बैंक पुगेका थिए ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जन कच्चा सुनको अभाव भएपछि व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्थासम्म हुने गरेको बताउँछन् । सुनचाँदी व्यवसायीको अर्को संगठन सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको अफ सिजन नभएर चाडवाड तथा विवाहका लगन पनि नजिकिँदै गरेको समय भएकाले पनि सुनको माग अत्याधिक भएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया