हिमालयन बैंकको आकर्षक लाभांश घोषणा, ४.६२ प्रतिशत नगद बाँड्दा बोनस कति ?

0
Shares

हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

बुधबार सम्पन्न सञ्चालक समितिको बैंकको हाल कायम चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नोटबजारलाई जानकारी दिए ।

बैंकले प्रस्ताव गरेको यो लाभांश विगत ३ वर्ष यताकै उच्च हो ।  अघिल्लो आव २०७६/७७ बाट बैंकले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सो भन्दा अघिल्लो आवमा १० प्रतिशत बोनस र १२ प्रतिशत नगद गरी २२ तथा आव २०७४/७५ मा बैंकले ५ प्रतिशत बोनस र १०.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।आव २०७३/७४ मा भने बैंकले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित २ अर्ब २८ करोड ४३ लाख २५ हजार रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

हिमालयन बैंक हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रकृयामा रहेको छ । मर्जरको प्रकृयामा रहेको अर्को बैंक इन्भेष्टमेन्टले भने चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ । हिमालयन बैंकले इन्भेष्टमेन्टको भन्दा दश प्रतिशत धेरै लाभांश वितरण गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।