ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्पूर्ण पूर्वाधार तयार

0
Shares

नेपाल धितोपत्र बोर्डले शेयर दलाल व्यवसायी मार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ ।

बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेको जनाएको छ । यो सँगै अब लगानीकर्ताले शेयर कारोबारका लागि ब्रोकर कार्यालयबाट नै ऋण लिन सक्नेछन् ।

बोर्डले मार्जिन कारोबार सुविधा संचालनका लागि मार्जिन कारोबारको राफसाफ सम्वन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने भएपछि केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ लाई संशोधन गरिएको बोर्डले जनाएको छ ।

संशोधित व्यवस्था अनुसार सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खाता सम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्नेछ । ब्रोकरबाट मार्जिनमा खरिद गरिएको शेयर सोहि खातामा जम्मा हुने छ ।

यस संशोधन पश्चात मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको अपेक्षा छ ।

हालसम्म आधादर्जन बढी ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि नेप्सेबाट अनुमति लिइसकेका छन् ।