३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति सुचारु

0
Shares

अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ ।

डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । ‘अब दुहवी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’

प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सुचारु भइसकेको छ ।

उपकरणहरुमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ ।

अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा

वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया ९कैलाली०–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सुचारु भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहिबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।