कर कार्यालय र बैंकको विवरण रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा बुझाएको वित्तीय विवरण रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकले अर्थमन्त्रालयको राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार बैंकहरुलाई उक्त निर्देशन दिएको हो । केन्द्रिय बैंकले कर प्रशासन र बैंकहरुमा बुझाएको वित्तीय विवरणको सूचना आदान प्रदान गर्ने स्वचालित प्रणालीको विकास गरिएको जनाएको छ ।

अबदेखि कर कार्यालयमा बुझाएको वित्तीय विवरणका आधारमा मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार कर कार्यालयको बिवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ।

अब बैंक तथा वित्तीय संस्थाहरुले ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने छ । जसका लागि केन्द्रिय बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ ।

ब्यवसायिक फर्महरुले कर छलि गर्न दोहोरो वित्तीय विवरण प्रयोग गर्ने गरेको पाइएपछि सरकारले त्यसलाई निरुत्साहित गर्न यस्तो ब्यवस्था गरेको हो । बैंकहरुले यस सम्बन्धी सम्पूर्ण विवरणहरु आफु दर्ता भएको कर कार्यालयबाट लिन सक्ने केन्द्रिय बैंकले जनाएको छ ।