वर्षा र हुरीले सप्तरीको १५ बिघामा लगाइएको केरा बगानमा क्षति

0
Shares

अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ ।

झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए ।

अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए । उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”

छठ पर्वमा केराको बिक्री राम्रो हुन्छ । कतिपय केराको घारी त्यस बेलासम्म तयार भइसक्ने र छठमा बेच्ने योजना रहेको उनले भने । यही कात्तिक १ र २ गते भएको वर्षा र हावाहुरीले उनले लगाएको केराबाली नष्ट गरेको हो । वर्षा र हावाहुरीले लगाएका अधिकांश केराका बोट लडाएको छ ।

शिक्षण पेशा छाडेर कृषि पेशामा लागेकामा अहिले पछुतो लागिरहेको जनाउँदै दश वर्ष शिक्षण पेशामा आबद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचका साथ यो पेशामा लागेको बताए ।

बाली कृषि बीमाका लागि सम्बन्धित ठाउँमा निवेदन दिँदा हालसम्म त्यसको सुनुवाइ नभएको उनले गुनासो गरे । उनीसँगै अरु किसानको केरा बालीमा समेत क्षति पुगेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।