स्वदेशी उत्पादनले माग नधान्ने भएपछि तिहारका लागि सवा १ करोडको फूल आयात गर्नुपर्ने

0
Shares

देशभित्र उत्पादित फूलले माग धान्न नसक्ने भएपछि यो वर्षको तिहार मनाउनका लागि नै सवा १ करोड मूल्यको सयपत्री फूल छिमेकी देशहरुबाट आयात गर्नुपर्ने भएको छ ।

विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र भारी वर्षाका कारण यस वर्ष देशमा उत्पादन हुने फूलले बजार माग धान्न नसक्ने अवस्था आएपछि तिहार मनाउनका लागि विदेशी फूलमा निर्भर हुनुपर्ने भएको हो ।

फ्लोरिकल्चर एशोसिएन नेपालका अनुसार यस वर्षको तिहारका लागि (पाँच दिनमा) करिब १५ लाख ५० हजार वटा सयपत्री माला, ३ लाख मखमलीको माला र १५ हजार गोदावरी गरी १८ लाख ६५ हजार वटा फूलको माला खपत हुने अनुमान गरिएको छ ।  जसमध्ये स्वदेशी उत्पादनबाट मखमली र गोदावरी फूलमा नेपाल आत्मनिभएर रहेपनि सयपत्री फूलाको मालको उत्पादन २ लाख ३२ हजार वटा माला अपुग हुने फ्लोरीकल्चर एशोसिएनले जनाएको छ । देशभित्र यो वर्ष १३ लाख १८ हजार वटा सयपत्री फूलको माला उत्पादन भएको छ ।

तिहारका लागि चाहिने १५ लाख ५० हजार वटा सयपत्री फूलको माग रहेकोमा २ लाख ३२ हजार वटा माला अपुग हुँदा १ करोड २७ लाख ६० हजार मूल्य बराबरको फूल आयात गर्नुपर्ने भएको हो । यो वर्ष सयपत्री फूलको औसत मूल्य प्रतिमाला ५५ रुपैयाँ रहने अनुमान एशोसिएनको छ ।

कोभिड असर र कार्तिकमा परेको बेमौसमी वर्षका कारण उत्पादनमा ह्रास आउँदा यो वर्ष आन्तरिक उत्पादनबाट १३ लाख १८ हजार माला मात्र परिपूर्ति हुनेछ । बाँकी २ लाख ३२ हजार सयपत्री फूलको माला आयात गर्नुपर्ने अवस्था सिर्जना भएको हो । देशको उत्पादनलेृ माग धान्न नसक्ने भएपछि तिहारका लागि चाहिने फूलमा समेत छिमेकी देशहरुमा परनिर्भर भई आयातित विदेशी फूल लगायर चाडवाड मनाउनुपर्ने अवस्था आएको हो ।

गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले बजार माग वृद्धि हुने एशोसिएनको अनुमान रहेको छ । एशोसिएनका अनुसार गत वर्ष तिहारको समयमा १५ लाख ३५ हजार सयपत्री फूलको माला, २ लाख वटा मखमली पूलको माला र १५ हजार वटा गोदावरी गरी कुल १७ लाख ५० हजार वटा फूलको माला खपत भएको थियो ।

गत वर्षको तिहारमा पनि १५ लाख ३५ हजार वटा सयपत्री फूलको माला खपत भएकोमा १ लाख ५३ हजार सयपत्री फुलको माला छिमेकी मुलुक भारतबाट आयात गरिएको थियो । गत वर्ष प्रतिमाला औषत ६५ रुपैयाँका दरले करिब १ करोड मूल्यको सयपत्री माला आयात भएको थियो ।

नेपालमा अहिले काठमाण्डौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपालचोक, नुवाकोट, गोर्खा, मनवानपुर, रामेछाप, झापा, ईलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराह, रुपन्देही, कास्की, स्याङजा, बाँके, पाल्पा, दाङ र कैलाली लगायतका जिल्लाहरुमा सयपत्री फूलको व्यवसायीक उत्पादन भइरहेको छ ।

मखमली र गोदावरी फूलमा आत्मानिर्भर

मखमली फूल र गोदावारी फुलमा भने देश आत्मनिर्भर रहेको फुलोरिकल्चर एशोसियसन नेपालले जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एशोसियसनले यस वर्षको तिहारका लागि ३ लाख मखमली मालाको माग रहेने अनुमान गरेको छ । जुन गत वर्षको तुलनामा १ लाखले बढी हो । गत वर्ष २ लाख मखमली मालाको माग रहेको थियो ।

गत वर्षभन्दा एक लाखले माग बढेपनि प्रशस्त स्वदेशी उत्पादनका कारण यो वर्ष मखमली फूलको मालको औषत मूल्य समेत घट्ने अनुमान गरिएको छ । गत वर्ष प्रतिमाला औषत ५० मा बिक्री भएकोमा यो वर्षका लागि ३५ रुपैयाँ रहने अनुमान गरिएको छ ।

देशमा उत्पादन हुने मखमली फूलले आत्मनिर्भर मात्र होइन बाहिरी देशमा निर्यात पनि भइरहेको छ । एशोसिएनका अनुसार एक वर्षमा विभिन्न देशमा एक लाख वटा माला निर्यात गरिएको छ ।

देशभित्र काठमाण्डौको ईचुंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेल क्षेत्र तथा उपत्यका बाहिर कैलाली, पाल्पा, धादिङ्ग र इलाममा पनि मखमली फूलको उत्पान भइरहेको एशोसिएसनले जनाएको छ ।

अनाधिकृत फूलको आयात रोक्न सरोकारवालाहरुसँगको पहल

तिहारको समयमा अनाधिकृत फुलको आयात हुने भएकाले यसको न्यूनीकरणका लागि सरोकारवाहरुसँग पहल भइरहेको एशोसिएनका अध्यक्ष मिन बहादुर तामाङले जनाएका छन् ।

तिहार सुरु हुनु भन्दा १५ दिन अघिबाट नै स्टलहरु भरिन लागेपछि यस तर्फ ध्यानाकषर्ण भएको तामाङले बताए । एशोसिएसनले, चाहिने भन्दा बढी फूलको आयात भइरहेकोले त्यसलाई रोक्न अर्थमन्त्री र कृषिमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको उनले बताए ।

अनाधिकृत रुपमा भित्रिएको फूलले नेपाली उत्पादनलाई निरुत्साहन गर्ने, गुणस्तरहिन फूलको बिक्री वितरण हुने, उपभोक्ताबाट गुणस्तर भएन भन्ने चर्को गुनासो आउने भएकाले यसतर्फ सरकारको ध्यानकर्षण गराइएको तमाङले बताए ।

वर्षाका कारण फूल उत्पादनमा २० देखि ७० प्रतिशतसम्म क्षति

तिहार नजिकिँदै गर्दा भएको बेमौसमी वर्षाका कारण विभिन्न जिल्लामा फूल उत्पादन गरिरहेका किसान मारमा परेका छन् ।

एसोसिएनका अध्यक्ष तामाङका अनुसार भर्खरै भएको वर्षाका कारण चितवन, मकवानपूर, धादिङमा सयपत्री फूलको उत्पादन गर्ने किसानले २० प्रतिशत क्षति व्यहोर्नु परेको छ ।

त्यस्तै रुपन्देही, नवलपरासी, पाल्पा, दाङ, गुल्मीमा ७० प्रतिशत र कैलीली तथा कन्चनपूरमा ४७ प्रतिशतको हाराहारीमा फुलको क्षति भएको जनाइएको छ भने सिन्धुली, बारा, धनुषा, सर्लाही र सिराहामा खासै क्षति नभएको अध्यक्ष तामाङको भनाई छ ।

सयपत्री र मखमली मालाको मूल्य घट्यो, गोदावरीको स्थीर

फ्लोरिकल्चर एशोसिएसनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सयपत्री र मखमली मालाको मूल्य सामान्य घटेको छ भने गादावरी फूलको मालाको मूल्य स्थीर रहेको छ ।

एशोसिएसनले सार्वजनिक गरेको मूल्य अनुसार यस वर्षका लागि सयपत्री फुलको माला प्रतिमिटर ५५ रुपैयाँ, मखमलीको ३५ रुपैयाँ र गोदावरी ३५० रुपैयाँ तोकिएको छ ।

गत वर्ष सयपत्री फुलको माला मिटरको ६५ रुपैयाँ, मखमली ५० रुपैयाँ र गोदावरी फूलको माला ३५० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।