एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद १५ दिन थपियो

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को हकप्रद शेयरमा आवेदन दिने समय १५ दिन थप भएको छ ।

बैंकले गत असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा लगानीकर्ताले कार्तिक १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो । यस अवधिमा बडादशैंको विदा परेका कारण बैंकको हकप्रदमा न्यून मात्रामा आवेदन परेका कारण १५ दिन समय थप गरिएको हो ।

बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले म्याद थप भएसँगै लगानीकर्ताले अब कात्तिक २९ गतेसम्म आवेदन दिनसक्ने बताए ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकको हकप्रदमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस बैंकका शेयरधनीहरुले मेरो शेयरको वेवसाइट, मोबाइल एप तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

यस्तै बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

बैंकको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हाल बैंकको चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।