कोभिडले १०% हस्तकलाका कलाकार व्यवसायबाटै पलायन, सम्भावना भने प्रचुर

0
Shares

कोभिडका समयमा समग्र देशको अर्थतन्त्र नै धरासायी अवस्थामा पुग्यो । धेरै पेशा व्यवसायसँग सम्बन्ध गाँसेका व्यवसायीहरुले व्यवसाय छाडे । केहि विदेश पलायन भए त कोहि अन्य पेशा व्यवसायमा आबद्ध भए । यहि समयमा कोभिडले हस्तकला व्यवसायलाई पनि अछुतो राखेन ।

नेपाली अर्थतन्त्रमा मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रुपमा रहेको हस्तकलाले महत्वपूर्ण योगदान दिएको छ । नेपाल हस्तकला महासंघका अनुसार कोभिडको समयमा यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहे पनि १० प्रतिशत व्यवसायीले पेशा व्यवसायबाटै विश्राम लिनुपर्ने अवस्था आयो ।

कोभिड असरले परम्परागत रुपमा हस्तकला क्षेत्रममा आबद्ध रहेका धातु कला, काष्ठ कला, पोष्टर कलाका कलाकारहरू पलायन हुने सूचीमा परेका हुन् । कोभिडअघि सो क्षेत्रबाटै उनीहरुले आफ्नो जिविकोपार्जन चलाइरहेका थिए । कोभिडको समयमा कच्चा पदार्थ नपाउँदा र सामाग्रीहरु विदेश निर्यात गर्न नसक्दा गुजारा चलाउँदै आएको पेशाबाटै कलाकारहरुले विश्राम लिनुपरेको हो । पेशाबाट पलाएन भएका कलाकारहरु अहिले अन्य पेशाहरु जस्तै, होटल, तरकारी पसल, ड्राइभर, किराना पसल लगायतमा आबद्ध भएका छन् ।

महासंघका अनुसार यस क्षेत्रमा हाल ८ लाख जनाले रोजगारी पाएका छन् । जसमा महिलाको सहभागिता एकदमै न्यून रहेको छ । हाल हस्तकला क्षेत्रमा १ लाखको हाराहारी मात्र महिला रहेका छन् भने बाँकी संख्या पुरुषको सहभागिता रहेको छ ।

नेपालमा बनेका हस्तकला विश्वका ८० देशमा निर्यात हुने गरेको छ । कोभिड १९ संक्रमणको समयमा पनि अन्तर्राष्ट्रिय बजारमा ६ अर्ब रुपैयाँ बराबरको हस्तकला सामाग्री निर्यात भएको र सोही अनुपातमा स्वदेशी बजारमा व्यापार भई १२ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

महासंघका उपाध्यक्ष रविन्द्र शाक्य कोभिडको बाबजुत १२ अर्बको व्यापार गर्न सफल हुँदा यस क्षेत्रमा थप हौसला मिलेको बताउँछन् । कोभिड भन्दा अघि सामान्य अवस्थामा अन्तर्राष्ट्रिय बजारमा १० अर्ब रुपैयाँ बराबरको हस्तकला सामाग्री निर्यात हुने गरेको थियो । साथै मुलुकको ब्यापार घाटा कम गर्न तथा आयात प्रतिस्थापन गर्न हस्तकला जस्ता निर्यातमुलक उद्योगको विकास, विस्तार र प्रवद्र्धनमा जोड दिनुपर्ने उपाध्यक्ष शाक्यले बताएका छन् ।

उपाध्यक्ष शाक्य भन्छन्ः हस्तकलामा थप एक लाख जनालाई ग्यारेन्टी रोजगार दिन सक्छौं

कोभिड महामारीको समयमा पनि ६ अर्बको निर्यात तथा देशभित्रै थप ६ अर्बको व्यापार गर्न सफल भएकाले हस्तकला क्षेत्रमा अझैपनि रोजगारीको प्रशस्त अवसर देखिएको महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताएका छन् ।

हस्तकला व्यवसायबाट नेपाली यूवा पिँढीलाई स्वरोजगार बनाउन प्रशस्त अवसर भएपनि यूवा वर्गको चासो खासै नदेखिएको महासंघका उपाध्यक्षले बताए । उनी भन्छन्, “देशमा रोजगारीका अवसर नपाएको भन्दै दिनहुँ हजारौंको संख्यामा यूवाहरु विदेश पलायन हुने गरेका छन् । तर यूवावर्ग प्रति विदेशी आकर्षण र चासो बढी हुँदा यो व्यवसायमा काम गर्ने कलाकारहरुको हाहाकार पर्न थालेको छ । हामी यस क्षेत्रमा अझै एक १ लाख जनालाई ग्यारेन्टीका साथ रोजगारी दिन सक्छौं ।”

नेपालमा हस्तकलाका ८२ वटा प्रोडक्ट छन् । जसमा १ हजारका दरले श्रमिक खटाउँदा पनि न्यूनतम ८२ हजार जनाले रोजगारी पाउने शाक्य बताउँछन् । यस क्षेत्रमा रोजगारीको अवसर मात्र होइन, मन लगाएर गर्न सकेको खण्डमा मनग्य आम्दानी पनि गर्न सकिन्छ । सामान्य आर्ट जानेकी एउटा गृहणीले पनि यस क्षेत्रबाट दैनिक ८०० देखि १ हजार रुपैयाँसम्म कमाउन सक्छिन् । तर हस्तकलामा स्कील देखाउन सक्ने वा एउटा विज्ञ कलाकारले मासिक १ लाख भन्दा बढी कमाउन सक्ने शाक्यको दाबी छ ।

यस्ता छन् समस्या तथा चुनौति

देशको ब्यापार घाटा कम गर्न तथा आयात प्रतिस्थापन गर्न हस्तकला उद्योगले ठूलो सहयोग पुर्याउनसक्ने भएपनि सरकारको नीतिगत कारण यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन हुन नसकेको यस क्षेत्रका व्यवसायीहरु बताउँछन् ।

महासंघका उपाध्यक्ष शाक्यका अनुसार हाल यो क्षेत्रमा पनि विभिन्न समस्या तथा चुनौतिहरु छन् । निजी क्षेत्रका हवाइबाट हस्तकला सामाग्री निर्यात गर्नुपर्ने भएकाले निर्यातमा समस्या, कच्चा पदार्थको समस्या, सहज रुपमा सामाग्री नपाउने, सरकारले मूल्य अभिवृद्धि कर निःशुल्क (भ्याट फ्रि) भनेपनि सरकारी काम भएकाले बेला बेला भ्याट बिल नै खोज्ने गरेकाले व्यवसायीहरुले समस्याहरु खेप्नु परेको छ ।

त्यसैगरी नेपाली हस्तकलाको कपी गरेर विदेशीहरुले सोही सामान एकदम सस्तो मूल्यमा नेपाल नै पठाउँदा स्वदेशी गुणस्तरीय बस्तुको बिक्री प्रवाभित हुने गरेको जस्ता समस्या रहेको शाक्य बताउँछन् । सरकारले हस्तकलाजस्ता जस्ता निर्यातमुलक उद्योगको विकास, विस्तार र प्रवद्र्धनमा जोड दिन सकेको खण्डमा रोजगारी वृद्धि भई देश आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।