नबिल बैंकको नाफा पहिलो त्रैमासमै एक अर्ब माथि तर घट्यो प्रतिशेयर आम्दानी

0
Shares

नबिल बैंक (NABIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै एक अर्ब बढी नाफा कमाएको छ । तर पूँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी भने खुम्चिएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४२.४१ प्रतिशते बढेपनि इम्पेरमेन्ट चार्ज १६३.६६ प्रतिशतले बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९४ पैसाबाट ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड, कमिसनबाट ४४ करोड कमाएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब कर्जा दिएको छ । बैंकको जगेडा कोष ४.६७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.०८ प्रतिशत बढेको छ भने कर्जा ४.७१ प्रतिशत बढेको छ।

बैंकको पूँजीकोष अनुपात १३.५८ प्रतिशत छ । बैंकको खराब कर्जा १.१३ प्रतिशत छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको एनपिएल ०.६५ प्रतिशत थियो । ६.११ प्रतिशत बेसरेट रहेको नबिल बैंकले स्प्रेड दर ३.९७ प्रतिशतबाट ३.१८ प्रतिशतमा झारेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।