नेपाल बैंकले तीन महिनामा कमायो साढे ७५ करोड, खुद नाफा ३७% बढ्यो

0
Shares

मुलुकको नै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेड (NBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड ०४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ४.३८ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.८९ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १९.५१ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख ०१ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ४.६५ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ७३ अर्ब ०९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ४८ अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ६५ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ९५ करोड ८५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ५३ करोड ७८ लाख र शेयरधनी कोषमा ३ अर्ब ८८ करोड ०३ लाख रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ४.६६, शेयरधनी कोष ३.९६, निक्षेप संकलन ६.३२, कर्जा लगानी ९.३९, खुद ब्याज आम्दानी ११.९८ र सञ्चालन नाफा २१.९७ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २ प्रतिशत, कोषको लागत ४.२२, आधार ब्याजदर ५.९३, स्पेडदर ३.६९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.२३ प्रतिशत, प्रतिशेयर नेटवर्थ २७०.४४ रुपैयाँ , मूल्य आम्दानी अनुपात २०.२६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।