प्रभु बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफामा संकुचन, २५ प्रतिशतले घट्यो

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) को खुद नाफा २५.१४ प्रतिशतले घटेको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ६३ करोड ६३ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ करोड ३६ लाख ९३ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १०.५३ रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.४३ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस ३२.९६ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १०.७३ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ६५ अर्ब ४५ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३८ अर्ब ४७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ४२ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ८८ करोड २५ लाख १६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७१ करोड ५३ लाख र शेयरधनी कोषमा १ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ५.७८, शेयरधनी कोष १८.८७, निक्षेप संकलन ०.३८, कर्जा लगानी २.४४ प्रतिशतले बढ्दा खुद ब्याज आम्दानी १६.०३ र सञ्चालन नाफा भने २९.४९ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.६१, कोषको लागत ५.२३, आधार ब्याजदर ७.६३, स्पेडदर ३.३८, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.६४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५८४५ रुपैयाँ , मूल्य आम्दानी अनुपात १७.८३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।