हिमालयन बैंकले तीन महिनामा कमायो ४५ करोड खुद नाफा, २३% बढ्यो

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १.३३ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.९५ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १५.६२ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६३ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यद्यपी शेयरधनी कोषमा कुल २ अर्ब ९३ करोड १७ लाख ९८ हजार सञ्चित रहेको छ । यो रकम बैंकले गत आवबाट वितरण गर्ने प्रस्ताव गरेको २६ प्रतिशत लाभांश रकम समेत हो ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३८ अर्ब ९ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ११ करोड ११ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ६४ करोड ७७ लाख ४७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९४ करोड ९६ लाख र शेयरधनी कोषमा २ अर्ब ९३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ४.६६, शेयरधनी कोष ३.९६, निक्षेप संकलन ०.८२, कर्जा लगानी ९.५६, खुद ब्याज आम्दानी १८.३४ र सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.५८, कोषको लागत ५.४९, आधार ब्याजदर ७.०१, स्पेडदर २.६४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९३.५४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १९२.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.५५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।