कमजोर भनिने सिभिल बैंकले दुई वाणिज्य बैंकलाई खुद नाफामा उछिन्यो

0
Shares

वाणिज्य बैंकहरुमा कमजोर भनिने गरिएको सिभिल बैंक (CBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई वाणिज्य बैंकलाई खुद नाफामा उछिनेको छ ।

बैंकले असोज मसान्तसम्मको वित्तीय विवरणका आधारमा सेञ्चुरी बैंक र बैंक अफ काठमाण्ठूलाई जितेको हो ।

अघिल्लो आवको पहलिो त्रैमासको तुलनामा २०० प्रतिशतले धेरै खुद नाफा आर्जन गरेपछि बैंकले अन्य दुई बैंकलाई पछाडि पारेको हो ।

बैंकले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ६९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ८.६८ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३.५१ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस ४.८३ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड २९ लाख १६ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ४.३० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले ९२ अर्ब ७३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन तथा ८१ अर्ब ९१ करोड ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ११ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २० लाख र शेयरधनी कोषमा ८० करोड १७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ०.७१ प्रतिशतले घटेको छ भने शेयरधनी कोष ५७.२३, निक्षेप संकलन ४.६३, कर्जा लगानी ३.६२, खुद ब्याज आम्दानी ४२.८२ र सञ्चालन नाफा २०८.४७ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.९६प्रतिशत, कोषको लागत ६.४३, आधार ब्याजदर ८.२६, स्पेडदर ३.२९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.९४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२६.८८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.९९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।