तरलता संकट व्यवस्थापनका लागि राष्ट्र बैंकले आज २० अर्ब बैंकिङ प्रणालीमा प्रवाह गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ ।

बिहीबार जारी हुने रिपोसहित अब ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ । केही बैंक थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेसँगै यसको व्यवस्थापनमा समेत बैंकहरूलाई कठिन परेको छ । केन्द्रीय बैंकको पछिल्लो विवरण अनुसार औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव ८७ प्रतिशत छ ।
चालु आर्थिक वर्षको सुरुआतमा सोचेअनुरुप विप्रेषण प्रवाह नहुनु, आयात बढ्दा बाह्य क्षेत्रमा दबाब पर्नु तथा समयमै सरकारी खर्च नहुँदा वित्त प्रणालीमा तरलताको चाप परेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स सङ्घको ३५ औं साधारण सभामा मङ्गलबार बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरेका थिए । कोरोना महामारीपछि बैंकमा कर्जाको माग बढेको र त्यसलाई सम्बोधन गर्दै अल्पकालीन नाफा लिन खोज्दा तरलतामा चाप परेको वास्तविकतालाई नबिर्सन र ‘बैंकरहरू’मा अनुशासन कायम हुन जरुरी भएको उनले अभिव्यक्ति दिएका थिए ।

आफ्नो संस्थाको निक्षेप बढाउन र त्यसलाई अन्य बैंक तथा वित्तीय संस्थामा जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै निक्षेपमा दुई अङ्कको ब्याजदर तोकेका थिए । आफ्नो निक्षेपको सुरक्षा तथा केन्द्रीय बैंकले तोकेबमोजिमको कर्जा निक्षेप अनुपात कायम गर्न बैंकहरूले निक्षेपको ब्याज बढाएको स्वयं बैंकरहरू नै स्वीकार गर्छन् ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा असाधारण प्रतिस्पर्धा गरेको भन्दै व्यवस्थित गर्न राष्ट्र बैंकले तीनबुँदे निर्देशन नै जारी गर्नु परेको थियो । गभर्नर अधिकारीले ब्याजदर स्वतन्त्र रहोस् भन्ने केन्द्रीय बैंकको चाहना भए पनि परिस्थितिका कारण हस्तक्षेप गर्नु परेको बताएका थिए ।

हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर ४.९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा मङ्गलबारसम्म बैंक तथा वित्तीय संस्थाले १३ खर्ब ६२ अर्ब ८८ करोड अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन ।

कार्तिक २२ गते सोमबार मात्रै नेपाल राष्ट्र बैंकले बैंक÷वित्तीय संस्थालाइ २१ पटक गरेर ४४ अर्ब १० करोड स्थायी तरलता सुविधा एसएलएफ प्रदान गरेको छ । त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले सोमबार मात्र १ अर्ब २० करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।

बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको कार्तिक २३ गते मात्र ५१ अर्ब ८२ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका छन् । चालु आवदेखि मंगलबारसम्ममा बैंकहरुले कुल १३ खर्ब ६२ अर्ब ८८ करोड रुपैयाँ बराबरको एसएलएफ उठाएका छन् । बैंकहरुले ६६० पटकमा यो रकम उठाएका हुन् । यस्तै बैंकहरुले १०८ पटकमा ४४ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ ओभरनाइट रिपो उपयोग गरेका छन् ।

चालु आवको कार्तिक २२ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४७ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रेहको छ भने वाणिज्य बैंकहरुमा ४२ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४५ खर्ब २७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा वाणिज्य बैंकहरुले ४० खर्ब २२ अर्ब कर्जा लगानी गरेका छन् । अन्तरबैंक दर ४.९६ प्रतिशत तथा सिडी रेसियो ८९.८७ प्रतिशत छ ।

बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैंकले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैंकले निक्षेपको व्याजसमेत बढाउनु परेको बैकरहरु बताउँछन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुआतमै निक्षेपमा दुई अङ्कको व्याजदर तोकेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाले व्याजदर असाधारण रुपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैंकले तीन बुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम ९.३६ प्रतिशत व्याज दिँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।