चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुका हरेक शाखाको औसत नाफा साढे ३३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोजसम्ममा ३३ लाख रुपैयाँ प्रति शाखा औसत नाफा रहेकोमा चालु आवको सोही अवधिमा बढेर ४१ लाख भन्दा माथि पुगेको हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा बैंकहरुको कुल नाफा २४ प्रतिशतले मात्र बढेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा बैंकहरुले १८ अर्ब ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.०६ प्रतिशतले धेरै हो । यो अवधिमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकका कुल शाखा संख्या भने ४ हजार ३ सय ८२ वटा पुगेका छन् ।
चालु आवको असोजसम्ममा बैंकहरुका प्रति शाखाको औसत नाफा ४१ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रतिशाखा औसत नाफा ३३ लाख ३३ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको प्रति शाखा औसत नाफा निकाल्दा गत आवको पहिलो त्रैमासको कुल नाफालाई हालका शाखा संख्याले भाग गरेर निकालिएको हो ।
६ बैंकका शाखा सय भन्दा कम
चालु आवको असोजसम्ममा सबैभन्दा धेरै शाखा एनआइसी बैंकका छन् । बैंकका हालसम्म कुल ३५५ वटा शाखा रहेका छन् । त्यसैगरी सबैभन्दा थोरै शाखा भएको वाणिज्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकल हालसम्म जम्मा १२ वटा मात्र शाखा छन ।
चालु आवको पहिलो त्रैमाससम्ममा ६ बैंकका शाखा संख्या एक सय भन्दा काम रहेको छ । एक सय भन्दा थोरै शाखा रहेका बैंकहरुको स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित सानिमा, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, नेपाल बंगलादेश बैंक र बैंक अफ काठमाण्डू हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति शाखा औसत नाफा ४ करोड
सञ्चालनमा रहेका अन्य वाणिज्य बैंकहरुको तुलनामा निकै न्यून शाखा सञ्जाल रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले हालसम्ममा १२ वटा मात्रै शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले देशको आन्तरिक भन्दा पनि बाह्य गतिविधिमा वित्तिय मध्यस्थकर्ताको काम गर्दे आएको छ । बाह्य क्षेत्रको वित्तिय मध्यस्थता गर्न धेरै शाखा आवश्यक नहुने भन्दै बैंकले त्यसमा खासै जोड दिएको देखिदैन । अन्तराष्ट्रिय बजारमा स्थापित बैंकले नेपालमा पनि सेवा प्रदान गर्दै आएको हो । नाफा कै दृष्टिकोणवाट पनि अन्य बैंकहरुभन्दा बलियो मानिएको बैंकले चुक्ता पुँजी ८ अर्ब पु्रयाएदेखि कमजोर देखिएको छ । बैंकका शाखा संख्या थेरै भएकाले पनि प्रति शाखाको औसत नाफा अन्यको भन्दा उल्लेख्य देखिएको हो । बैंकको आम्दानीको तुलनामा शाखा संख्या कम भएका कारण प्रति शाखा औसत नाफा धेरै भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रति शाखा औसत नाफा दृष्टिकोणबाट नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा छ । हाल ८८ शाखा रहेको बैंकको प्रति शाखा औसत नाफा एक करोड ४ लाख ९८ हजार छ ।
त्यसैगरी सबैभन्दा धेरै शाखा रहेको एनआइसी एसिया बैंकको प्रतिशाखा औसत नाफा ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकका शाखा संख्या ३५५ वटा रहेका छन् । चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद नाफा एक अर्ब १८ करोड रुपैयाँ छ । सो अवधिमा सबैभन्दा धेरै नाफा गर्ने बैंक नै एनआइसी एशिया हो ।
बैंकहरुको नाफालाई शाखा संख्याले भाग गरेर प्रति शाखा औसत नाफा निकालिएको हो । तर, औसतमा बैंकहरुका सबै शाखाले नाफा कमाएको देखिएको भएपनि बैंकहरुका सबै शाखा नाफामा नरहेको एक बैंकरले बताए । सरकारी नीतिका कारण हरेक स्थानिय तहमा खोलिएका धेरै बैंकहरुका शाखा नोक्सानमा रहे पनि सञ्चालन गर्नु परेको ती बैंकरको भनाई छ । कुल नाफाका आधारमा हरेक शाखा नाफामा रहेको देखिएपनि वास्तविकता त्यो नभएको उनको भनाई छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया