दुई लाख बढीको भुक्तानी तुरुन्तै पाइने, भदौ २५ देखि आरटिजिएस प्रणाली

0
Shares

नेपाल राष्ट्र बैंकले भदौ २५ देखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यो प्रणाली कार्यन्वयनमा आएपछि कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ ।

अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन ९ देखि १२ घन्टा लाग्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्दै आरटिजिएस प्रणाली लागू गर्न लागिएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैंकहरुका लागि मंगलबारदेखि लागु हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको हो ।

यो प्रणाली कार्यान्वयनमा आएपछि अब कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नुपर्नेछैन । यो प्रणाली २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा मात्र लागू हुनेछ । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्टे पेयी चेक नै जारी गर्नुपर्नेछ ।

यो सिस्टममा सहभागी भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार संचालन गर्नुपर्ने नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकको निर्देशनअनुसार बनाइएको एउटा फाराम भर्नुपर्नेछ । उक्त फाराम चेकको विकल्प हुनेछ । उक्त फाराम बैंकका प्रस्तुत गर्नासाथ सम्बन्धित खातावालाको नाममा तुरुन्तै रकम जम्मा हुनेछ । त्यस्तो फाराम सम्बन्धित भुक्तानीकर्ताले आफ्नै कार्यालयमा भरेर प्राप्त कर्तालाई समेत दिन सक्ने व्यवस्था मिलाइएको छ ।

हाल आरटिएस प्रक्रियाबाट रकम भुक्तानी गर्दा कागजी प्रक्रिया (म्यानुअल) नै अपनाउनुपर्ने भए पनि भविष्यमा अनलाइन कारोबार गर्न सकिने व्यवस्थासमेत हुने राष्ट्र बैंकको तयारी छ ।

त्यस्तै, राष्ट्र बैंकले २० लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक जारी गर्नै नपाइने व्यवस्थासमेत गर्न लागेको छ । यस्तो कारोबार आरटिजिएस प्रणालीमार्फत नै हुनुपर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।