इन्फ्रास्ट्रक्चर बैंकको प्रतिशेयर आम्दानीमा भएन सन्तुलन, पूँजी बढ्दा ५ रुपैयाँ नजिक


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८४ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढ्दा पनि प्रतिशेयर आम्दानी १.१६ रुपैयाँले घटेको वित्तीय विवरण निकालेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा २४ करोड २० लाख २७ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १८ करोड १ लाख २२ हजार रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारसँगै बैंकको आम्दानीमा सुधार देखिएको हो । यद्यपी बैंकको चुक्ता पूँजीमा भएको वृद्धिका कारण खुद नाफा बढ्दा पनि बैंकको प्रतिशेयर आम्दानी घटेको हो । समीक्षा अवधिमा बैंकले ८ अर्ब रुपैयाँको साधारण शेयर निष्काशन गरी चुक्ता भइनसकेको १२ अर्ब रुपैयाँको पूँजीलाई २० अर्ब रुपैयाँ कायम गरेको थियो । जसका कारण बैंकको प्रतिशेयर आम्दानीमा सन्तुलन हुन नसकेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ थियो ।

निक्षेप, कर्जा, व्याज आम्दानी तथा सञ्चालन मुनाफामा सुधार गरेको बैंकको जगेडा कोष १ अर्ब ८१ करोड ४७ लाख बाट बढेर २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा आएको सुधारसँगै बैंकको प्रतिशेयर नेटवर्थ ११३.२२ रुपैयाँ कायम भएको छ । वित्तीय विवरणमा उल्लेख भए अनुसार बैंकको मूल्य आम्दानी अनुपात ७४.३७ गूणाले बढी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।