नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल पेमेन्ट स्वीच सञ्चालनको स्विकृती

0
Shares

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी नेपाल क्लियरिङ्ग हाउस लि.लाई अन्तिम स्वीकृती प्रदान गरेको छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिए पश्चात उक्त स्विकृती प्रदान गरिएको हो । हाल उक्त स्वीचमा आबद्ध हुन बैंक/वित्तिय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरु लगायतसँग समन्वय गरी छिट्टै उक्त प्रणाली सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ ।

विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गर्ने कार्य अघि बढाउन अघिल्लो आर्थिक बर्षमा नेपाल क्लियरिङ्ग हाउसलाई स्विकृती प्रदान गरिएको हो ।

उक्त नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ्ग हाउसले दुइ चरणमा कार्यान्वयन गर्न कार्य हुँदै आएको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागी आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आए पश्चात नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ, जस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुने छ भने नेपाल भित्र रहेका क्युआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ । सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीच मार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ ।

वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ । त्यस्तै विद्युतिय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउनेछन । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएल मार्फत गर्न सकिनेछ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक/वित्तिय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ । साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यस अघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक/वित्तिय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेकोछ ।

यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धी डाटा नेपाल भित्रै राख्न र ग्राहकहरुलाई विद्युतिय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।