विप्रेषण आप्रवाह ७.६ प्रतिशतले घट्यो, असोजमा भित्रियो ८४ अर्ब

0
Shares

चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपाल भित्रने विप्रेषण आप्रवाह (रेमिट्यान्स) अघिल्लो आवको यसै अवधिको तुलनामा ७.६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो । असोज महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो आवको असोजमा मात्रै ९३ अर्ब १३ करोड रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो असोनजको तुलनामा यो असोजमा भित्रिएको रेमिट्यान्स ९ अबए १८ करोड कम हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको थियो । समीक्षा अवधिमा १९ अर्ब ५४ करोड रुपैयाँले घटेको हो ।

वि.सं २०७८ असोज मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई २ खर्ब ६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।