नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ असोजसम्ममा कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् भने ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिनासम्ममा ३३ अर्ब ३ करोड बराबरको डिबेन्चर, ३ अर्ब ५६ करोड बराबरको साधारण शेयर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड, १ अर्ब २८ करोड बराबरको बोनस शेयर र १ अर्ब २३ करोड बराबरको हकप्रद शेयर गरी कुल ४१ अर्ब ६० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब बराबरको म्युचुअल फण्ड, १ अर्ब ५८ करोड बराबरको साधारण शेयर, १ अर्ब २० करोड बराबरको डिबेन्चर र २४ करोड बराबरको हकप्रद शेयर गरी कुल ६ अर्ब २ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
विसं २०७८ असोज मसान्तसम्ममा सूचीकृत ५ अर्ब ९१ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
एक वर्षमा १०९४ अंकले बढ्यो शेयर बजार
नेपालको शेयर बजार पछिल्लो एक वर्षमा १ हजार ९४ दशमलव ५० अंकले बढेको छ । २०७७ असोज मसान्तमा १५६२.५ बिन्दुमा रहेको नेप्से पूँजी बजार सूचकांच २०७८ असोज मसान्तमा २६५७.० बिन्दुमा पुगेको हो । विसं २०७८ असोज मसान्तमा धितोपत्र बजार पूँुजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । विसं २०७७ असोज मसान्तमा बजार पूँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रहेको थियो ।
विसं २०७८ असोजमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ४१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ असोजमा सूचीकृत कम्पनीहरूको संख्या २०९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७०.७० प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.६० प्रतिशत, लगानी कम्पनीको ७.१० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१० प्रतिशत, होटेलको हिस्सा १.४० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५० प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ७.६० प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया