बैंकहरुमा ३० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २४ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड ५० र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २०७८ मंसिर ७ देखि २०७९ मंसिर ७ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाबाट बैंकले ब्याजदर सहित प्रस्ताव आह्वान गरेको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको उक्त मुद्दती निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले मंसिर ३ गते दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्न राष्ट्र बैंकले भनेको छ ।

यस्ता छन् शर्त

केन्द्रीय बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्थाले तोकिएको शर्त पूरा भएको हुनुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले विभिन्न शर्तहरू पूरा गर्नुपर्नेछ । जसअनुसार निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको हुनुपर्छ ।

यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने छ ।

यस्तै निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने शर्त सूचनामा तोकिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ ।

राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ । राष्ट्र बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने योजनाले तरलता अभावको समस्या हटाउन केहि समयका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।